कफी खेतीतर्फ आकर्षित हुँदै कालीमाटीका कृषक

Share News

वैशाख ९, तनहुँ । तनहुँको भानु नगरपालिका १० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गरेका छन् । करीब ६०० कफीका बिरुवा लगाएर उनले आम्दानी गर्न थालेका हुन् । चार वर्षदेखि कफी खेती शुरु गरेका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताए ।

‘गत वर्ष करीव ७० किलो कफी उत्पादन भएका थियो’, उनले भने, ‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष उत्पादन बढ्ने विश्वास लिएको छु ।’ उत्पादित कफी प्रतिकिलो रू. ६०० मा विक्री हुने गरेको छ । उनले भने, ‘उत्पादन भएको कफी काठमाडौंमा लगेपछि सजिलैसँग विक्री हुन्छ ।’ उनले गाउँमा कफी खेती शुरु गर्न थालेपछि त्यसबाट प्रभावित भई यहाँका झण्डै १५/१६ जनाले धेरथोर कफी खेती गर्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र तनहुँको सिफारिसमा गत वर्ष काठमाडौंस्थित् बागवानी अनुसन्धान केन्द्र कीर्तिपुरमा एक हप्ताको नर्सरीमा बिरुवा उत्पादन गर्ने तालीम लिएपछि उनले कफी खेती गर्न शुरु गरेका हुन् । उनले भने,‘तालिमपश्चात् एक रोपनी क्षेत्रफलमा करीव २२ हजार कफीका बिरुवा उत्पादन गरेको छु ।’ तरकारी तथा फलफूल खेतीका लागि नगरपालिकाले आवश्यक पर्ने औजार र बीउ अनुदानमा उपलब्ध गराएको छ । भानु नगरपालिका १० का वडाध्यक्ष गोविन्दराज सिलवालले भने,‘गाउँका अन्य कफी खेती किसानले आवश्यक सामग्रीको माग गरे त्यसको लागि व्यवस्था मिलाउछौं ।’ रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।