पर्वत (अस) । विद्यार्थी भर्ना अभियान चलिरहेका बेला पर्वतको एक गाउँपालिकाले विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क दिने भएको छ । जलजला गाउँपालिकाले अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न–गराउन आफ्नो क्षेत्रभित्रका विद्यालयका शिक्षक, व्यवस्थापन समिति र सरोकारवालालाई अनुरोधसमेत गरेको छ ।
विद्यार्थीलाई पोशाक, कापीकलम, झोलालगायत शैक्षिक सामग्री प्रदान गर्न लागिएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ले बताए । बालबालिकालाई नजीकको विद्यालयमा भर्ना गराउन सम्बन्धित वडा, विद्यालय व्यवस्थापन समिति र सबै सरोकारवालालाई अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ । ‘कुनै बालबालिकालाई विशेष शैक्षिक सामग्री तथा सहयोगी सामग्री आवश्यक परेमा गाउँपालिकाले व्यवस्था गर्ने भएको छ,’ उनले भने ।
गाउँपालिकाभित्र कुनै पनि बालबालिका विद्यालय बाहिर रहन नदिन नयाँ अभ्यासको थालनी भएको स्थानीयको भनाइ छ । गाउँपालिकाले कापीकलम र पोशाकको व्यवस्था गर्ने भएपछि आर्थिक अभावमा विद्यालय नआउने र बीचैमा विद्यालय छोड्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा उनीहरूले गरेका छन् । गाउँपालिकाले यसअघि सबै वडाका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन विषयगत तालीमलगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।