आँटिलोले मात्र गर्न सक्ने भीरमहको शिकार

Share News

वैशाख १२, बागलुङ । परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो ।

ग्रामीण पर्यटन प्रवर्द्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका १० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ । मह शिकारसहित विविध खेलकूद र सांस्कृतिक कार्यक्रम हुनेछन् । वडा कार्यालय र रमुवाको सरस्वती युवा क्लबले मह शिकार कार्यक्रमको आयोजना गरेका हुन् । रमुवाको मौरीभीरमा रहेका झण्डै १०० गोलाबाट मह काढिने वडाअध्यक्ष तिलक घर्तीले बताए । ‘पर्यटन प्रवर्द्धनको उद्देश्यले मह शिकार कार्यक्रम राखिएको हो’, उनले भने, ‘यसलाई साहसिक पर्यटनसँग जोड्न सकिने सम्भावना छ ।’ रमुवाका भीरमा प्रशस्त भीर मौरी पाइन्छ । गाउँलेले पुस्तौंदेखि मह शिकार गर्दै आएका छन् । अनुभवी शिकारीले परम्परागत प्रविधिबाट मह शिकार गर्छन् । बाँसको चोया र काठ प्रयोग गरी बनाइएको भर्‍याङ (पराङ) मा झुण्डिएर मह शिकार गरिने शिकारी धनबहादुर घर्तीले बताए । ‘हाम्रा बाउबाजेले पनि यसरी नै मह काढ्थे’, उनले भने, ‘ज्यानकै बाजी लगाएर भीरमा उक्लनुपर्छ ।’ साहस र कौशल नभएका व्यक्तिले मह शिकार गर्न नसक्ने उनको भनाइ छ । साहसिक मह शिकारले आन्तरिक पर्यटक लोभ्याउने आयोजकको विश्वास छ । ‘मह शिकारलाई व्यावसायिक बनाउन पनि आवश्यक छ’, क्लबका अध्यक्ष गिरीप्रसाद घर्तीले भने । स्थानीय शिकारीले वर्षेनी मह काढ्ने गरे पनि यो वर्ष पर्यटन प्रवर्द्धन गर्ने गरी मह शिकार हुन लागेको उनको भनाइ छ । मह शिकार हेर्न पर्यटक भित्रिँदा महको किनबेच पनि बढी हुनेछ । शिकारीले राम्रो याममा एउटै गोलाबाट २० लिटरसम्म मह निकाल्ने गरेका छन् । भौगोलिक हिसाबले विकट रुमुवामा सडक, सञ्चारजस्ता सुविधा पुगेपछि पर्यटन गतिविधि सञ्चालन गर्न गाउँले कस्सिएका हुन् । मह शिकार कार्यक्रममा जानेलाई रू.५० मा मह खाने व्यवस्था समेत मिलाइएको छ । खरीदका लागि पनि मह उपलब्ध हुनेछ । भीर मौरीको महस्वास्थ्यबर्धक मानिने हुँदा व्यावसायीकरण गर्न सजिलो छ । गलकोटका धेरै ठाउँमा भीर मौरी रहे पनि मह शिकार कमै हुने गरेको छ । खर्चिलो र जोखिमयुक्त हुने भएकाले शिकार कम हुन्छ । घरायसी प्रयोगमै सीमित भीर मौरीको मह रमुवावासीले भने विक्रीसमेत गर्दै आएका छन् । मह शिकारका लागि वैशाख–जेठ उपयुक्त महीना हुन् । गत वर्ष पनि गलकोट नगरपालिका ४ निलुवामा मह शिकार महोत्सवको आयोजना गरिएको थियो । निलुवाको ५०० मिटर अग्लो भीरमा पनि वडा नं १० रमुवाकै अनुभवी शिकारीले मह काढेका थिए । निलुवालाई पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवर्द्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । दशकौंपछि गरिएको मह शिकार हेर्न निलुवामा सर्वसाधारणको भीड लागेको थियो । परम्परागत प्रविधि र सीप अपनाएर मह काढिएको थियो । मह शिकारमा पराङ, सुथरी, झापा, दाबिलो, डोरीलगायतका सामग्री प्रयोग हुने गरेका छन् । आँट, साहस भएको र स्वस्थ व्यक्ति मात्रै शिकारका लागि छनोट हुने गरेका छन् । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।