वैशाख १२, तनहुँ (अस) । तनहुँ जलविद्युत आयोजनाकोे बाँध निर्माणका लागि पुनः बोलपत्र (टेन्डर) आह्वान गरिएको छ । १४० मेगावाट क्षमताको उक्त आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले बाँधका साथै पहिलो प्याकेजका संरचना निर्माणका लागि बिहीवार अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
यसअघि यो प्याकेजका संरचाना निर्माणको लागि इटालियन कम्पनी सीएमसीसँग भएको ठेक्का रद्द गरिएपछि आयोजनाको निर्माण कार्य रोकिएको छ । तनहुँ हाइड्रोपावरले आउँदो जेठ २६ गते (९ जुन, २०१९) सम्म कम्पनीमा आइपुग्ने गरी बोलपत्र पेश गर्न आह्वान गरेको हो ।
निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुई ओटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गर्नु पर्ने छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैक (ईआईबी)को सहुलितपूर्ण ऋण परिचालन हुने छ ।
टेण्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरुले दातृ निकाय एडीबीको खरीद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीप कुमार थिकेले जानकारी दिए । ‘पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी सारभूत रुपमा प्रभावकारी बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ,’ प्रबन्ध–सञ्चालक थिकेले भने, ‘कात्तिकको दोस्रो साता (अक्टोवर २०१९) भित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साता (डिसेम्बर २०१९) भित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य रहेको छ ।’ आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यसकारण तोडेको थियो तनहुँले सीएमसीसँग ठेक्का तनहुँ हाइड्रोपावर लिमिटेडले खरीद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनिया“ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम शुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको चेक सर्वे गरिरहेको अवस्था छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, ईआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।