बागलुङ नगरपालिकामा चिया खेती

Share News
अर्जुन कार्की बागलुङ । बागलुङ नगरपालिकाले चिया खेतीको परीक्षण उत्पादन शुरू गरेको छ । नगरले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा चिया उत्पादनलाई प्राथमिकतामा राखेर ९ हजार ५ सय बिरुवा परीक्षणका लागि लगाइएको नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । नेपालमा चिया तथा कफीको क्षेत्रमा काम गरिरहेका विज्ञका सल्लाहका आधारमा नगरको वडा नम्बर ८ सिगाना र ९ को उपल्लो भूभागमा चिया खेतीको परीक्षण शुरू गरिएको पौडेलले बताए । उनका अनुसार नगरपालिकाले वडा नम्बर ५ मालिका र १० भकुण्डेमा पनि चियाखेती गर्ने योजना बनाएको छ । नगरपालिकाले यस वर्ष १० लाख बजेटको व्यवस्था गरेर चिया खेतीलाई थप वितार गर्ने तयारी गरेको नगरप्रमुख पौडेलले बताए । साथै प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि नगरपालिकाले बनाएको छ । चियाको बिरुवाले ३ वर्षमा उत्पादन दिन थाल्ने भएकाले आगामी पाँच वर्षभित्र व्यावसायिक उत्पादन थालिने बागलुङ–८, सिगानाका वडाअध्यक्ष राजन जिसीले जानकारी दिए । किसानलाई व्यवसायिक उत्पादनमा जोडेर आत्मनिर्भर गराउने उद्देश्यले चिया खेती गर्न लागिएको उनको भनाइ छ । नगरपालिकाले समुद्री सतहदेखि १ हजार ७ सयदेखि २ हजार मिटरसम्मको उचाइमा चिया खेती गर्न लागेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।