इण्डष्ट्रियल ४.०

Share News

एप्लिकेशनबाटै औद्योगिक व्यवस्थापन
 
सामान्य किसिमका उपकरणबाट शुरू भएको औद्योगिक क्रान्तिको इतिहास एप्लिकेशनको प्रयोगसँगै नयाँ चरणमा प्रवेश गर्दै छ । उद्योग भन्नेबित्तिकै आममानिसमा ठूला आकारका मेशिन र जटिल किसिमको व्यवस्थापन संरचनाको धारणा छ । तर, यस्तो क्रान्तिको चौथो चरणलाई सम्बोधन गर्न प्रयोग गरिएको ‘इण्डष्ट्रियल ४.०’  प्लेटफर्मले भने उद्योगको परिभाषा र व्यवस्थापनलाई ‘स्मार्ट टेक्नोलोजी’को अवधारणामा प्रवेश गराउँदै छ । उद्योगको प्रकृतिअनुसार यसमा प्रयोग हुने एप्लिकेशन पनि फरक हुन्छ । उद्योगको प्रकृतिअनुसार कच्चापदार्थ सङ्कलनदेखि बजारीकरणसम्म फरक प्रक्रिया हुने भएकोले एप्लिकेशन पनि फरक पर्न गएको हो । अहिले खाद्य कृषि, पेट्रोलियम, इलेक्ट्रोनिक्स, ऊर्जा, अस्पताल, टेलिकम कम्पनी, कस्मेटिक, खनिज, सिमेण्ट जस्ता उद्योगहरूमा त्यस्ता एप्लिकेशनको प्रयोग गर्न थालिएको छ ।     

लागत कम, क्षमता अभिवृद्धि  
इण्डष्ट्रियल ४.० प्लेटफर्मअन्तर्गतका एप्लिकेशनको प्रयोगको मुख्य उद्देश्य कार्यक्षमता अभिवृद्धि गर्नु हो । यतिमात्र होइन, यसले प्रक्रियागत कठिनाइ कम गरी उद्योग सञ्चालनकर्ताको खर्च घटाउन पनि सहयोग गर्छ । कृषि तथा खाद्यसम्बन्धी उद्योगमा यसले विभिन्न क्षेत्रमा भएको लागतको तथ्याङ्क राख्ने काम गर्छ भने गुणस्तर मापनमा पनि सहयोग गर्छ । जस्तै, आलुबाट तयार गरिएको चिप्सको गुणस्तर जाँच्न पनि इण्डष्ट्रियल ४.० अन्तर्गतका एप्लिकेशनको प्रयोग भइरहेको छ । छिमेकी राष्ट्र भारतमा सञ्चालनमा रहेका कतिपय डेरी उद्योगले यही प्लेटफर्ममा आधारित भएर कार्य सञ्चालन गरिरहेका छन् । त्यस्ता उद्योगले यो प्लेटफर्मको प्रयोग गर्नुअघि धेरै क्षेत्रबाट दूध सङ्कलन गर्नुपर्ने र त्यसले ग्राहक, सङ्कलित दूधको परिणामलगायत विषयमा धेरै समस्या भोगिरहेका थिए । तर, यो प्लेटफर्मको प्रयोगपश्चात् दुग्ध सङ्कलन र तथ्याङ्क व्यवस्थापनमा निकै सजिलो भएको त्यहाँका उद्योगीहरूको अनुभव छ । त्यस्तै, खनिजसम्बन्धी उद्योगका उत्पादनको गुणस्तर मापन गर्न पनि यस्ता एप्लिकेशनको प्रयोग हुने गरेको छ ।

यस्ता एप्लिकेशनको प्रयोगमा केही समस्या भने हुन सक्छ । जो कोहीले यसको सजिलै प्रयोग गर्न सक्ने अवस्था अहिलेसम्म छैन । प्रविधिज्ञहरूले मात्र यस्तो एप्लिकेशनको प्रयोग गरेर काम गर्न सक्छन् । यसको प्रयोग गर्न विशेष किसिमको तालीमको आवश्यकता पर्छ । उक्त तालीमपछि मात्र एप्लिकेशनको सही प्रयोग गर्न सकिन्छ । आकारका हिसाबले यो मोबाइलमा इन्ष्टल गरिने एप्लिकेशन जस्तो भने हुँदैन ।  यसको प्रयोगले विशेषगरी उद्योगमा प्रयोग हुने मेशिनरी सामानलाई विस्थापित गरेर एप्लिकेशनको प्रयोगलाई बढावा दिनेछ । त्यस्तै, उद्योगभित्र सहज सञ्चार स्थापना गर्न पनि यस्तो एप्लिकेशनले सहयोग गर्नेछ । इञ्जिनीयरहरूले अहिले यही प्लेटफर्मअन्तर्गत रहेर विभिन्न एप्लिकेशन निर्माण गरिरहेका छन् ।

के हो इण्डष्ट्रियल ४.० ?
यो एक किसिमको प्लेटफर्म हो । उद्योगको खर्च घटाएर कार्यक्षमता बढाउन यो उपयोगी हुन सक्छ । औद्योगिक कार्यमा एप्लिकेशन तथा सफ्टवेयरको प्रयोग गरी काम गर्ने प्रचलनलाई नै इण्डष्ट्रियल ४.० नाम दिइएको हो । विशेषगरी औद्योगिक उत्पादन क्षमता विस्तार र व्यवस्थापनमा यसको प्रयोग गर्न सकिन्छ । यसले वस्तु उत्पादनदेखि वितरणसम्मका विभिन्न चरणमा नेटवर्किङको काम गर्न सक्छ । यसले उद्योगमा प्रयोग हुने मेशिनरी सामग्री (फिजिकल डिभाइस) र अत्यधिक जनशक्ति घटाएर कार्यक्षमता बढाउन सहयोग गर्छ । त्यस्तै, उद्योगसम्बन्धी तथ्याङ्क व्यवस्थापन र त्यसको विश्लेषण गर्नसमेत यसको प्रयोग प्रभावकारी हुन सक्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।