सुकमाया थापा
वैशाख १६, डोल्पा । तीन महीना देखि डोल्पाको सदरमुकाम दुनैमा विद्युत सेवा नहुँदा यहाँका स्थानीय समस्यामा परेका छन् । विद्युत सेवा अवरुद्ध भएपछि सवै भन्दा बढी समस्या जिल्ला अस्पताल डोल्पालाई परेको छ । विद्युत नहुँदा अस्पतालको एक्सरे मेसिन बन्द अवस्थामा रहेको छ ।
अस्पतालमा रहेको सौर्य उर्जाबाट आपुर्ती भएको विद्युतले काम नगर्दा समस्या भएको अस्पतालले जानकारी दिएको छ । स्थानीय जैरीगाड जलविद्युत आयोजनाको नहर सुक्खा पहिरोबाट तीन महीना अघि भत्किएपछि डोल्पा सदरमुकाम लगायत १ हजार २०० घरधुरीमा विद्युत सेवा ठप्प छ । विद्युत नभएकै कारण जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीका आफन्त महँगो मुल्यमा विरामीको एक्सरे गर्न बाध्य छन् ।
विद्युत नभएका कारण बिरामी आफैंले एक्सरेका लागि जेनेरेटर बोकेर आउनुपर्ने बाध्यता छ । उपचारका लागि आउने बिरामी र उनीहरूका आफन्त आफैंले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गर्दै आएको छ । अस्पताल मात्र होइन, डोल्पाका सरकारी कार्यालय, बैंक तथा स्थानीय रेडियो स्टेशनहरुलाई पनि विद्युत नहुँदा समस्या भएको छ । स्थानीय रेडियोले जेनेरेटर चलाएर सेवा सूचारु गरिरहेका छन् । अवरुद्ध विद्युत सेवा सञ्चालन गर्नका लागि नेपाल विद्युत प्राधिकरणबाट रू.५९ लाख रकम बिनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए ।
उनले भने, ‘विद्युत नहुँदा जिल्लाको सवै सेवाप्रदायकहरुको काम ठप्प भएको छ, अहिले प्राधिकरणबाट रकम बिनियोजन भएर आएको छ, उपभोक्ता समिति मार्फत् काम गरेर छिटो विद्युत सञ्चालन गरिने छ ।’ उपभोक्ता समिति मार्फत् काम गर्ने भनिए पनि अहिले सम्म कुनै कार्य अगाडी बढेको छैन ।अहिले नदीमा पानीको वहाव बढ्दै गएकाले केही दिन अझै ढिला हुने हो भने काम गर्न मुस्किल हुने स्थानीयवासीको भनाइ छ । विद्युत सेवा सूचारु गर्नका लागि माथिल्लो निकायमा निरन्तर सम्पर्क गर्दा रकम प्राप्त भएको भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले अव विद्युतको काम एक दुई दिनमा शुरु हुने बताइन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।