वैशाख १६, कास्की । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त लगानीमा फेवाताल किनारमा झण्डा पार्क बनाउने अभियान थालिएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब देखिने गरी पार्क बनाउने प्रक्रिया अगाडी बढाइएको हो ।
पोखरा महानगरपालिकासँगको सहकार्यमा प्रदेश सरकारले फेवातालको किनारामा रहेको ड्यामसाईड पार्कलाई झण्डा पार्कको रुपमा विकास गर्ने प्रक्रिया अगाडि बढाएको हो । पार्क निर्माणका लागि दुवै सरकारले रू.२/२ करोड लगानी गर्ने छन् । पार्क निर्माण गर्न ४ करोड लाग्ने अनुमान छ । पार्क निर्माणको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरका प्रमुख मनबहादुर जीसीले सोमवार संयुक्तरुपमा उद्घाटन गरेका छन् । प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह–लगानीमा पार्क निर्माणको प्रक्रिया अगाडी बढाइएको मुख्यमन्त्री गुरुङले बताए ।
प्रदेश सरकार र पोखरा महानगरबीच सहकार्य नटुटेको सन्देश दिन संयुक्तरुपमा पार्क निर्माण अभियान थालिएको उनले बताए । ‘प्रदेश र स्थानीय सरकारबीच राम्रो सम्बन्ध छैन भन्ने भ्रमलाई चिर्न संयुक्तरुपमा पार्क निर्माणको अभियान थालेका हौं’,उने भने,‘दुवै सरकार सँगसँगै छौं भन्ने सन्देश दिन पनि यो काम महत्वपूर्ण छ ।’ पर्यटकीय गन्तब्य विस्तार गर्ने योजना सहित पार्क निर्माणको परिकल्पना गरिएको गुरुङको भनाई छ । ‘गण्डकी प्रदेश पर्यटनबाटै समृद्धि चाहन्छ ,त्यसका लागि संरचना बनाउन आवस्यक छ’, मुख्यमन्त्री गुरुङले भने, ‘आगामी दिनमा यो पार्क एउटा महत्वपूर्ण गन्तब्य हुन्छ ।’
उनले पार्क निर्माणमा कुनै समस्या नहुने भन्दै तोकिएकै समयभित्र निर्माणको काम सकिने पनि बताए । मुख्यमन्त्री गुरुङले आर्थिक विकास र समृद्धिको लागि प्रारम्भ सानोबाट सुरुवात भएको बताउदै प्रदेशमा पर्यटन प्रवर्द्धन गर्न पुर्वाधार विकास गर्नुपर्ने बताए । फेवाताल संरक्षणको लागि प्रदेश सरकार लागेको बताउँदै मुख्य मन्त्री गुरुङले सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने बताए । प्रदेश सरकारको गठन पछि विकासमा विकेन्द्रिकरण शुरु भएको उनको भनाई थियो । बिनु कन्स्ट्रक्सनलाई तोकिएको मिति आउदो असार २० गते भित्र उक्त पार्क निर्माण गर्न पनि उनले आग्रह गरे ।
पार्क निर्माणका लागि अनुमानित ४ करोड मध्ये चालू आवमा रू.१ करोड विनियोजन भएको छ । पहिलो चरणमा पार्क निर्माण गर्न विनु कन्स्ट्रक्सनले रू.७६ लाखमा जिम्मा लिएको छ । महानगरका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षणका लागि पनि पार्क निर्माण महत्वपूर्ण हुने बताए । ‘विदेशतिर गयो भने यो ठाउँ पुग्नैपर्ने भनेर लैजान्छन्, हामी पनि पोखरा आएका पर्यटकलाई यो पार्क घुम्नैपर्ने ठाउँ भनेर प्रचार गर्ने हो’, उनले भने, ‘लेकसाईडका कारण छायाँमा परेको ड्यामसाईड अव चम्किनेछ ।’ आन्तरिक र बाह्य दुवै पर्यटकलाई लक्षित गरि पार्क निर्माण गरिने पनि उनले बताए ।
पोखरा महानगरका प्रमुख इञ्जिनीयर शोभियत खड्काले महानगरले रू.१ करोड ९ लाखको टेण्डर आह्वान गर्दा रू.७६ लाखमा काम गर्न निर्माण कम्पनी राजी भएको बताए । उनले भने, ‘१७ रोपनी क्षेत्रफलमा आकर्षक पार्क बन्छ,यो बर्षको काम असार मसान्तभित्रै सक्नुपर्ने छ ।’पार्कमा जाने पुलसहित टिकट काउण्टर, रेष्टुरेन्ट, छहरा, फुट ट्रयाक, बाल उद्यान लगायत संरचना बन्ने प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।
उनका अनुसार पार्क भित्र ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा राखिने छ । सो स्थानमा बिष्णु मन्दिर समेत् रहेकोले मन्दिर मर्मत् सहित,रुख विरुवाहरुको संरक्षण र पार्क निमार्ण गर्न ड्यामसायड क्लवको समन्वयमा निर्माण कार्य अगाडी बढाइएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।