कुनै पनि वेला आउने विपत्लाई मध्यनजर गर्दै उद्धार सहज बनाउन जुम्लामा हेलिप्याडको अवधारणा
वैशाख १७, जुम्ला । जुम्लामा ६० ओटा हेलिप्याड बन्ने भएका छन् । प्रत्येक वडाको पायकपर्ने स्थानमा हेलिप्याड निर्माण प्रक्रिया शुरु गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठका अनुसार हेलिप्याड निर्माणका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ । यहाँका एक नगरपालिकासहित सात गाउँपालिकाभित्र पर्ने ६० ओटा वडामा हेलिप्याड निर्माणको काम अघि बढेको उनले बताए । उनले भने, ‘गाउँमा स्थापित प्रहरीचौकी स्थानीय तहका पदाधिकारी र स्थानीयवासीको सहमतिमा हेलिप्याडस्थल छनोट गर्ने काम भइरहेको छ ।’
दुर्गम क्षेत्रमा कुनै पनि वेला आउने विपत् आउनसक्ने र महामारी फैलनसक्ने सम्भावना मध्यनजर गर्दै उद्धारकार्यलाई सहज बनाउनका लागि प्रत्येक वडामा हेलिप्याडको अवधारणा अघि बढाइएको हो । सहजै हेलिकप्टर अवतरण गर्न सक्नेदेखि लिएर बिरामीलाई सहजै हेलिप्याडस्थलसम्म पुर्याउन सकिने गरी स्थान छनोटको काम भइरहेको छ । कर्णालीलगायतका दुर्गम जिल्लामा अहिले पनि सुत्केरीलाई उद्धार गर्नुपर्ने हुन्छ ।
बिरामी र सुत्केरीलाई मध्यनजर गर्दै हेलिकप्टरको अवधारणा ल्याइएको हो । जुम्लाका प्रत्येक वडामा हेलिप्याडस्थल छनोट र सांकेतिक चिन्ह बनाउने कार्य चलिरहेको छ । तिला गाउँपालिका २ का वडाध्यक्ष कालीबहादुर रावतका अनुसार प्रत्येक वडामा हेलिप्याड निर्माण गर्ने कार्य भइरहेको छ । उनले भने, ‘हेलिप्याड निर्माण भएपछि कुनै पनि जटिल प्रकारको बिरामीलाई सुविधा सम्पन्न अस्पतालसम्म लैजान सजिलो हुनेछ । वडाले बनाएको हेलिप्याडमै हेलिकप्टर अवतरण गरेर सेवा लिन सकिने छ ।’
प्रत्येक वडाका वडावासीको अनुकूलतामा हेलिप्याड बनाउन थालिएको उनले बताए । यहाँका अधिकांश वडामा सडक पुग्न सकेको छैन । अहिले जटिल प्रकारका बिरामी डोको र स्ट्रेचरको भरमा अस्पताल लैजानुपर्ने बाध्यता छ । एक हप्ताभित्र हेलिप्याड भएको स्थान र निर्माण गरिएको प्रतिवेदन गृह मन्त्रालय पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।