डोल्पा सदरमुकाममा ३ महीनादेखि विद्युत् अवरुद्ध

Share News
सुकमाया थापा डोल्पा । डोल्पा सदरमुकाम दुनैमा ३ महीनादेखि अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन सकेको छैन । विद्युत् नहुँदा यहाँका स्थानीयको दिनचर्या कष्टकर बनेको छ । विद्युत् आपूर्ति नहुँदा सबैभन्दा बढी समस्या जिल्ला अस्पताल, डोल्पामा भएको छ । विद्युत् अभावले जिल्ला अस्पतालको एक्सरे मेशिन चलाउन सकिएको छैन । यसबाट बिरामीको उपचार असहज बनेको छ । वैकल्पिक स्रोतको रूपमा अस्पतालमा सोलार प्यानल राखिए पनि पर्याप्त नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले बनाएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाको नहर सुक्खा पहिरोले ३ महीनाअघि भत्किएपछि डोल्पा सदरमुकाम लगायतका १ हजार २ सय घरधुरीमा विद्युत् सेवा ठप्प भएको छ । विद्युत् नहुँदा जिल्ला अस्पतालमा एक्सरे गर्ने बिरामीका आफन्त आफै जेनेरेटर भाडामा लिएर एक्सरे गराउँदै आएका छन् । डोल्पा अस्पतालमा अहिले डिजिटल एक्सरेसमेत नभएको चिकित्सकले बताएका छन् । परम्परागत एक्सरेको भरमा काम चलाइएको उनीहरूको भनाइ छ । विद्युत् अवरुद्ध हुँदा डोल्पाका बैंक तथा वित्तीय संस्था पनि प्रभावित भएका छन् । यस्तै स्थानीय रेडियोले जेनेरेटर प्रयोग गरी समाचार मात्र प्रसारण गर्दै आएका छन् । अवरुद्ध विद्युत् सेवा सञ्चालनका लागि नेपाल विद्युत् प्राधिकरणबाट रू. ५९ लाख विनियोजन भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले बताए । ‘अब उपभोक्ता समितिमार्फत काम गरेर छिट्टै विद्युत् सुचारु गरिनेछ,’ उनले भने । उपभोक्ता समितिमार्फत काम गर्ने भनिए पनि अहिलेसम्म कुनै काम अघि बढाइएको छैन । विद्युत् सञ्चालनका लागि रकम प्राप्त भएकाले काम एक–दुई दिनमै शुरू हुने प्रतिनिधिसभा सदस्य तथा पूर्वशान्तिमन्त्री सत्य पहाडीले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।