स्थानीय सरकारको प्रभाव : गाउँमा बढ्यो रौनक, शहरमा घट्यो चहलपहल

Share News
म्याग्दी । सबैजसो सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि म्याग्दीका गाउँ भरिन थालेका छन् भने सदरमुकाम बेनीबजारमा मानिसको चहलपहल घटेको छ । यसअघि अत्यावश्यक सेवासुविधा तथा अवसरको खोजीमा शहरमा बसेका मानिस समेत ग्रामीण बस्तीमा विभिन्न पूर्वाधारको विकास र सेवा विस्तार भएपछि गाउँ फर्केका हुन् । २ वर्ष अघिसम्म भाडामा कोठा पाउनसमेत मुश्किले पर्ने बेनी बजारमा अहिले कैयौं घर रित्ता भएका छन् भने सटरहरू खाली छन् । बेनी बजारमा सञ्चालित व्यवसाय मानिसको चहलपहल घटेसँगै खस्किएको स्थानीय व्यापारी व्यवसायीले बताएका छन् । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा आएसँगै गाउँको विकास र रौनक बढेको हो,’ बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले भने, ‘५० मिटर पाइपका लागि सिफारिश लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अब छैन ।’ गाउँपालिकामा चलहपहल बढेका बेला सदरमुकामको व्यापार व्यासाय घटेको मात्र छैन, सरकारी अड्डासमेत सुनसान छन् । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका सेवाग्राहीले भरिभराउ भइरहने साविकको जिविस जिल्ला समन्वय समितिमा परिणत भएपछि सेवाग्राही घटेका हुन् । सदरमुकाम आउनुपर्ने जनताका कामकाज स्थानीय तहबाटै उपलब्ध हुन थालेपछि सदरमुकाममा चहलपहल घटेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लीलाराम गौतमले बताए । सदरमुकामका उद्योगधन्दा अहिलेसम्म निरन्तर चले पनि व्यापारमा भने ह्रास आएको उनको भनाइ छ । ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्य वस्तु खरीदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । यातायातको सुविधा गाउँघरसम्मै पुगेपछि सदरमुकाममा उपलब्ध वस्तु स्थानीयले सोही मूल्यमा घरपायकमा पाउन थालेका छन् । स्थानीय तहको सरकार बनेपछि गाउँगाउँमा सरकारी कार्यालय पुगेका छन् । निर्वाचनपछि स्थानीय निकायका कामकाज चुस्त समेत देखिन थालेका छन् । सचिवमार्फत गराउनुपर्ने सामान्य कामका लागि पनि सदरमुकाममा लाग्ने सेवाग्राहीको भीड आजभोलि गाउँपालिका तथा वडा कार्यालयतिर फर्किएको छ । सदरमुकामको घट्दो चहलपहलका कारण चिया पसलदेखि होटल, किराना पसल, स्टेशनरी, होटलजस्ता व्यवसाय भने संकटमा परेका छन् । सदरमुकाममा केही वर्षदेखि बढेको घरजग्गा कारोबार सुस्ताउँदा स्थानीय तहमा जग्गाको भाउ भने आकाशिएको छ । म्याग्दीका दरबाङ, तातोपानी जस्ता स्थानीय बजार अहिले चम्किएका छन् । सदरमुकाममा चहलपहल घटेपछि धेरै व्यापारी अहिले स्थानीय केन्द्रतर्फ आकर्षित हुन थालेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।