नयाँ अस्पताल बनाउनुको सट्टा जिर्ण अस्पताल मर्मत संभार गरिदैं

Share News

प्रवीर ददेल वैशाख १८, रुकुम । रुकुम जिल्लास्थित् जिल्ला अस्पतालको जिर्णोद्धार हुने भएको छ । वि.सं.२०४५ सालमा निर्माण भएको जिल्ला अस्पतालका भौतिक संरचना मर्मत गर्न लागिएको हो ।

अस्पताल जिर्ण मात्र छैन, हालसम्म स्वास्थ्यकर्मीको दरबन्दी समेत थपिएको छैन । दैनिक १०० सय देखि ३०० सम्म बिरामी आउने अस्पताल हालसम्म पनि १५ शैयाको मात्रै छ । यतिखेर नयाँ अस्पताल बनाउनुको सट्टा तत्कालिन् समयको जनसंख्यालाई मध्यनजर गर्दै निर्माण गरिएको अस्पतालको मर्मत संभार गर्न थालिएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पतालको भौतिक संरचना मर्मत, सेवा सुधार तथा उपकरण खरीदका लागि जिल्ला अस्पताललाई रू.६० लाख विनियोजन गरेको छ । सो रकमबाट भौतिक संरचना मर्मतका काम शुरु गरिएको जिल्ला अस्पताल रुकुम पश्चिमले जानकारी दिएको छ । भवनका जस्ता फेर्ने, भित्ता प्लास्टर गर्ने, टायल विछ्याउने तथा सडक निर्माण गर्नेगरी काम थालिएको अस्पताल व्यवस्थापन समितिले बताएको छ ।

अस्पतालको अन्तरंग, प्रयोगशाला र अप्रेसन कक्ष रहेको भवनको जस्ता फेरिने छ । यी तीन ओटै भवनको भित्री भित्तामा प्लास्टरका साथै भूँइमा टायलिङ र माथिपट्टि फर्सिलिङ गर्ने काम पनि शुरु भएको छ । आकस्मिक कक्ष र प्रसूति गृहको पनि भुइँमा टायलिङ तथा माथिपट्टि फर्सिलिङ गरिनेछ । भवन पुरानो र जीर्ण भइसकेकाले मर्मत थालिएको व्यवस्थापन समिति अध्यक्ष सुन्दर ओलीले बताए ।

उनले भने, ‘यी भवन निकै पुराना र जीर्ण छन्, विकसित समय अनुसार बिरामी मैत्री तथा कामकाजका लागि पनि उपयुक्त बनाउन मर्मतको काम शुरु गरिएको हो ।’ अर्को नयाँ भवन नबनुन्जेल सम्मका लागि भएपनि भवन मर्मत गर्नु परेको अध्यक्ष ओलीले बताए । आवश्यक भए पनि तत्कालै अर्को भवन बनाउन सक्ने अवस्था नभएकोले प्रदेश सरकारसँग बजेट माग गरेर मर्मत थालिएको उनको भनाई छ ।

अस्पताल व्यवस्थापन समितिका अनुसार अस्पतालको गेटदेखि आकस्मिक कक्षसम्मको सडकलाई पनि सोही बजेटबाट पक्की बनाइने छ । प्रदेश सरकारले विनियोजना गरेको कूल रू.६० लाख मध्ये रू.१० लाखबाट आवश्यक उपकरण खरीद गर्ने योजना छ । सो रकमबाट २२ ओटा बिरामीका लागि बेड, म्याट्रेस र बेड साइड लकर खरीद गर्ने तयारी गरिएको अस्पताल प्रमुख डा. सुशील पोखरेलले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।