दैलेख (अस) । दैलेखको दुल्लुमा हालै उत्खनन गरिएको ऐतिहासिक ढुंगेधारा हेर्न स्वदेशी पर्यटकको घुइँचो लागेको छ । तत्कालीन सिँजा राज्यका राजारानीले उक्त ढुंगेधारामा नुहाउने गरेको जनविश्वास छ ।
दुल्लु नगरपालिकाको पहलमा ढुंगेधारा उत्खनन गरिएको हो । दुल्लु–५, मुडेदेवलको भूमेथानमा जमीनमुनि ढुंगेधारा रहेको बुढापाकाको भनाइलाई ध्यानमा राखी उत्खनन थालेपछि धारा भेटिएको दुल्लुका मेयर घनश्याम भण्डारीले बताए । गएको चैत दोस्रो सातादेखि वडा नं. ५ को २ लाख बजेटबाट उत्खनन शुरू गरिएको थियो । उत्खननपछि एउटै ढुंगाबाटै धारालगायतका कलात्मक कपडा फेर्ने ठाउँ पनि बनाएको भेटिएको भण्डारीले बताए । ‘यो धारालाई दुल्लुकोे पर्यटकीयस्थलका रूपमा विकास गर्न आवश्यक बजेटसहित व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उनले भने ।
‘उत्खननपछि जमीनमुनि कलाकौशलले ढुंगामै कुँदिएका धारा भेटिएको हो । थप उत्खनन गर्दै जाँदा धारामा पानी पनि आयो, ढुंगाबाटै बनाइएको दुई कपडा फेर्ने कोठा पनि धारासँगै जोडिएको अवस्थामा भेटियो, अहिले उत्खनन सकिएको छ,’ उपमेयर विष्णुकुमारी थापाले भनिन् । अहिले दुल्लु क्षेत्रका धेरै स्थानमा उत्खनन हुनुपर्ने आवाज उठेको उनको भनाइ छ ।
वडाध्यक्ष प्रेमबहादुर थापाले उत्खनन र धारा रहेको सो जग्गा किन्नका लागि दुल्लु नगरपालिका–५ को वडा कार्यालयबाट रू. २ लाख बजेट विनियोजन गरिएको बताए । नगरपालिकाले पुरिएको अवस्थामा रहेको धारालाई उत्खनन गरी जीवन्त राख्ने प्रयास सफल भएको बताएको छ । दुल्लु सिँजा राज्यको हिउँदे राजधानीसमेत रहेको थियो । दुल्लु नगरपालिकाले धारालाई पुरानै शैलीमा स्थापना गरेर खोज अनुसन्धान गर्ने तथा पर्यटकका लागि कलाकौशलले भरिएको धारा राखिने
बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।