बेनी–मालढुंगा सडक दुई लेनमा विस्तार हुँदै

Share News
म्याग्दी (अस) । म्याग्दीको सदरमुकाम बेनी र मुस्ताङलाई जोड्ने बेनी–मालढुंगा सडक दुई लेनमा विस्तार हुने भएको छ । जीर्ण अवस्थमा रहेको र पहिरोका कारण जोखिमयुक्त मानिएको बेनी–मालढुंगा सडकको विस्तार, स्तरोन्नति र कालोपत्रका लागि अर्थ मन्त्रालयले १० करोड बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाअन्तर्गत चालू आर्थिक वर्षमा सडक विस्तारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाले कार्यान्वयन गर्नेगरी उक्त रकम विनियोजन गरेको बताइएको छ । सडक निर्माणका लागि बजेट विनियोजन भएसँगै कालीगण्डकी कोरिडोरको रूट पनि निश्चित भएको छ । यसअघि कोरिडोर पर्वत हुँदै जाने वा बागलुङ भएर जाने भन्ने अन्योल थियो । बजेट विनियोजन भएपछि अब सडक निर्माणका लागि चाँडै ठेक्का प्रक्रिया अगाडि बढ्ने बेनी–जोमसोम कोराला सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बताए । ‘पत्रमा उल्लेख भएकोलाई आधार मान्दा कालीगण्डकी कोरिडोर मालढुंगा, पर्वत हुँदै बेनी जोडिन्छ,’ उनले भने । मालढुंगा–बेनी १३ किलोमिटर सडक निर्माणका लागि यसअघि डीपीआर तयार भइसकेको छ । कोरला सडकको यो खण्ड निर्माणको लागत करीब १ अर्ब हुने अनुमान छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।