पुनर्निर्माणमा परेन दुल्लु दरबार

Share News
दैलेख (अस) । दैलेखको दुल्लु दरबार राज्यको पुनर्निर्माण योजनामा परेको छैन । उक्त दरबार व्यक्तिको नाममा भएकै कारण पुनर्निर्माणमा नपरेको पुरातŒव विभागले बताएको छ । राज्यका नाममा नामसारी भए छिट्टै उक्त दरबारको पुनर्निर्माण शुरू गर्न सकिने विभागका एक कर्मचारीले बताए । २०६० वैशाख ८ मा तत्कालीन माओवादीको बम आक्रमणले दरबार ध्वस्त भएको थियो । तीन भ¥याङ र ५२ झ्याल ढोका भएको दरबार प्यागोडा शैलीमा बनेको थियो । विसं १९८४ मा ललितपुरका कालिगढ झिकाई दरबारको पुनर्निर्माण गरिएको उल्लेख छ । ‘दरबार जनताको हो, मेरो नाममा भए पनि राज्यलाई दिन तयार छु,’ दुल्लूका अन्तिम राजा जंगबहादुर शाहका कान्छा छोरा जर्नेल दिप्तप्रकाश शाहले टेलिफोनमार्फत भने, ‘नेपाल सरकारले दरबारको पुनर्निर्माण गर्न चाहेमा आफ्नो तर्फबाट पूर्ण सहयोग गर्नेछु ।’ विष्फोटबाट ध्वस्त दरबारको हाल भग्नावशेष मात्र बाँकी छ । विष्फोटबाट दरबारका साथै त्यहाँ रहेका ११ ओटा झारी कलश, भगवतीको मूर्ति, जहात, ३६ तोला सुन, चाँदीको आशागुर्जा, खुकुरी, तरबार, क्रश ढाल जलेर नष्ट भएको स्थानीयवासी बताउँछन् । तत्कालीन दुल्लु राज्यका कर्णेल डम्बरबहादुर शाहले भारतको बैजरी स्थानको लडाइँ जितेर ल्याएको सम्पत्तिबाट दरबारको पुनर्निर्माण गरिएको दुल्लुका इतिहासकार भूपालविक्रम शाहले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।