कास्कीमा भूकम्पपछिको पुनर्निर्माण सुस्त, ६ हजार घर मध्ये ३६७ मात्र सम्पन्न

Share News

वैशाख २६, कास्की । विनासकारी भूकम्प गएको चार बर्ष बितिसक्दा पनि कास्कीमा पुनर्निर्माणले गति लिन सकेको छैन । भूकम्पले जिल्लाका विभिन्न स्थानहरुमा ध्वस्त भएका ६ हजार २६ घर मध्ये हालसम्म ३६७ घरले मात्रै पूर्ण अनुदान रकम लिएका छन् ।

सरकारले वि.सं.२०७२ वैशाख १२ मा गएको भूकम्पमा क्षति हुने जिल्लामा मध्ये कास्कीलाई पनि समावेश गरेको थियो । ढिला गरी थालिएको निजी आवास पुनर्निर्माण अनुदान कार्यक्रम प्रभावकारी बन्न नसक्दा मापदण्ड पूरा नगरी निर्माण थालिएका संरचनाहरु अझैसम्म पनि अलपत्र छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई कार्यालय कास्कीका अधिकृत अर्जुन न्यौपानेका अनुसार वैशाख पहिलो सातासम्म ३६७ घरले मात्रै पूर्ण अनुदान रकम लिएका छन् ।

जिल्लामा निर्माणको चरणमा ५ हजार ६५९ ओटा घर मात्र छन् । भूकम्पले पूर्णरुपमा क्षति भएका भौतिक संरचनाको निर्माण गर्न भूकम्प पीडितलाई सरकारले तीन किस्तामा रू.३ लाख वितरण गरेको छ । भूकम्पबाट क्षति भएको घरलाई सरकारले पूर्ण र आंशिक गरी दुई समूहमा वर्गीकरण गरको छ । जसध्ये कास्कीमा २४२ घर आंशिक क्षति भएको सूचीमा सूचीकृत छन् । कम क्षति भएकालाई सरकारले प्रवलीकरण (रेट्रोफिटिङ) बापत रू.१ लाख अनुदान रकम उपलब्ध गराउँछ । यस मध्ये कास्कीमा १२२ घरले हालसम्म पहिलो किस्ता बापतको रू. ५० हजार बुझेको अधिकृत न्यौपानेले बताए ।

‘पूर्ण क्षति भएकामध्ये ५ हजार ६२० घरधुरीले पुनःर्निर्माणको सम्झौता गरी पहिलो किस्ता रू.५० हजार बुझिसकेका छन्’ उनले भने । ‘त्यस मध्ये २ हजार ३३४ घरले टाइपिङ बिमसम्मको प्रगति विवरण पेशगरेर दोस्रो किस्ता बापतको रू.१ लाख ५० हजार समेत लिएका छन् ।’सो कार्यालयबाट रू.२ लाख अनुदान रकम लिइसकेका १ हजार ९६७ घरले समयमै निर्माणको काम सम्पन्न नगरेका कारण तेस्रो किस्ता बापतको बाँकी रू.१ लाख अनुदानको रकम पाएका छैन् ।

‘अनुदानको रकम पाउनका लागि प्रक्रियामा झन्झट मानेर कतिपयले पुनर्निर्माण गर्न ढिला गरेको अधिकृत न्यौपाने बताउँछन् । ‘पीडितहरुले घर पुनर्निर्माणका लागि पहिलो किस्ता लिँदा प्रतिबद्धतासहित सम्झौता गरे, तर दोस्रो किस्ता लिने प्रक्रियानै थालेन्’, उनले भने, ‘काम सकेका केहीले मात्र लिए,तेस्रो किस्ता लिँदा अधिकांश मापदण्डमा पर्न सकेनन् ।’ भूकम्पपछि तत्काल बस्ने विकल्प नभएपछि निजी लगानीमा घर बनाएकाहरुको लागि भने सम्बन्धित् गाउँपालिका र नगरपालिकाको सिफारिसमा अनुदान रकम वितरण गर्ने निर्देशन छ,’ उनले भने ।

रेट्रोफिटिङको विकल्प लिन चाहने घरलाई भने प्रक्रियामा कुनै झन्झट नहुने कार्यालयले जानकारी दिएको छ । अधिकृत न्यौपानेका अनुसार जिल्ला आयोजना कार्यान्वय इकाई कास्कीमा पुनर्निर्माण सम्बन्धी ३ हजार ३८८ गुनासा दर्ता भएका छन् । बढीमात्रामा गुनासो लाभग्राही सूचीमा नपरेको भन्ने छ ।

विद्यालय पुनःनिर्माण सम्झौतामा बिजोग

कास्कीमा भूकम्पले क्षति पुर्‍याएका १७० विद्यालयमध्ये जम्मा ४३ ओटा विद्यालयले भवन पुनर्निर्माणको सम्झौता गरेका छन् । गतबर्ष जम्मा नौ विद्यालयले पुनर्निर्माणको सम्झौता गरेका थिए भने यसबर्ष ३४ विद्यालयले भौतिक पूर्वाधार बनाउने गरी सम्झौता गरेका छन् ।

निर्माण प्रक्रिया थालेका बिद्यालयहरुमध्ये चार कोठा भवन बनाउने १८ ओटा स्कूल छन् भने तीन कोठे भवनका बनाउने छ ओटा र दुई कोठे आरसिसी भवन निर्माण गर्ने १८ विद्यालय रहेका छन् । विद्यालय व्यवस्थापन समितिको बैठकले पारित गर्ने निर्माण लागतको प्रस्तावलाई अधारमानेर इकाईले रकम सिफारिस गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।