नगर बस : चढ्नलाई होइन, हेर्न चाहीं पाइन्छ

Share News

वैशाख २६, रुकुम पश्चिम । नगरवासीलाई सुलभदरमा यातायात सेवा प्रदान गर्ने भन्दै चौरजहारी नगरपालिकाले खरीद गरी ल्याएका नगर बस अहिले स्थानीयले हेर्न मात्रै पाउँछन्, चढ्न पाउँदैनन् । २ महीनाअघि नगरपालिकामा भित्रिएका तीन ओटा बस नगरपालिका परिसरको चौरमै थन्किएर बसेका छन् ।

नगरपालिकाले बस खरीद गरेर ल्याएपछि खुशी भएका स्थानीय लामो समयसम्म सञ्चालन नहुँदा निरास बनेका छन् । स्थानीय रुटमा अन्य सार्वजनिक सवारीसाधनमा चर्को भाडादर तिर्दै आएका नगरवासीले नगर बस खरीद गरेको दुई महीना बित्दासम्म पनि नयाँ गाडी चढ्न पाउने मितिको टुंगो लागेको छैन ।

प्रशासकीय अधिकृत भन्छन् : एसएलसी पास ड्राइभर भेटिएन, अब लाइसेन्सबाहक मात्रै खोजेका छौं चालक (ड्राइभर)को अभावका कारण बस सञ्चालनमा ढिलाइ भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा कुँवरले बताए । चालकको खोजी नगरिएको भने होइन । ‘नगर बस चालकको लागि एसएलसी पासको सर्टिफिकेट र लाईसेन्स अनिवार्य गराएका थियौं,’ उनले भने, ‘एसएलसी पास गरेको चालक नभेटिएपछि पुनः आवेदन खुला गरेका छौं ।’ अब एसएलसी पास अनिवार्य नबनाएकाले चालक छिटै भेटिने र छिटै नगर बस सञ्चालन गर्न सकिने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘अब लाइसेन्स भएका चालकहरुलाई प्रयोगात्मक परीक्षा मार्फत नियुक्ति गर्छौं ।’

चौरजहारी नगरपालिकाले गत फागुनमा रू. ९४ लाख १५ हजारको लागतमा ३ ओटा नगर बस खरीद गरेको थियो । नगरपालिका क्षेत्र भित्रका स्थानहरु चौरजहारी–खोलागाँउ–नुवाकोट रुटमा बस सेवा सञ्चालन गर्ने नगरपालिकाले जानकारी दिएको छ । अबको एक हप्ताभित्र चालक नियुक्ति, भाडादर कायम लगायतका सबै काम सकेर नियमित सेवा सुरु गरिने चौरजहारी नगरपालिकाले जानकारी दिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।