राजविराज । सप्तरीको रुपनी गाउँपालिका–५, गढिया धुरगामका दलितले जनता आवास कार्यक्रममार्फत थप किस्ता रकम नपाउँदा घर निर्माण गर्न सकेका छैनन् । दोस्रो किस्तासम्मको रकमले आधा घर ठडिए पनि बाँकी रकम पाउन नसक्दा घर पूरा गर्न नसकेको लाभग्राहीको गुनासो छ । उनीहरूले ६ महीनादेखि आवास कार्यक्रमको कार्यालयमा धाए पनि रकम पाउन नसकेको बताए ।
स्थानीय लक्ष्मीरामले भने, ‘छाना, भ्याल ढोका राख्न मात्र बाँकी छ । तेस्रो किस्ता निकासा भएको भए उहिले नै सम्पन्न भइसक्थ्यो ।’किस्ता रकमले नपुगेपछि ऋण लिएर घर बनाउन थालेको उनले बताए । तर, ऋणले पनि नपुग्दा र किस्ता रकम नआउँदा घर अलपत्र भएको उनको भनाइ छ ।
उनीहरूले गत वर्षदेखि नै आफ्नो जग्गामा रहेको फुसको घर भत्काएर जनता आवास अन्तर्गतको घर निर्माण शुरू गरेका थिए । तर, समयमै घर नबन्दा केही छिमेकीको आश्रयमा छन् भने केहीले सानो छाप्रोमा जसोतसो दिन बिताउँदै आएका छन् । लक्ष्मीरामले भने, ‘गत वर्षको वर्षामा निकै कष्ट भएको थियो । अब डेढ महीनापछि फेरि वर्षा शुरू हुन्छ, अहिले चिन्ताले सताइरहेको छ ।’
शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सप्तरीका सूचना अधिकारी महेशकुमार यादवले सो स्थानमा १८ ओटा आवास निर्माण भइरहेको जानकारी दिए । ३० घर दलित परिवारको आवास निर्माण स्वीकृत भएकोमाबाँकीमा जग्गा स्वामित्व विवादले काम शुरू हुन नसकेको उनले बताए ।
प्रतिआवास २ लाख ५ हजार पाउने तोकिएको छ । पहिलो किस्ता बापत ५१ हजार ३०९, दोस्रो किस्ताबापत ६१ हजार ५७१ लाभग्राहीको खातामा निकासा गरिसकेको यादवले बताए । तेस्रो किस्ताका लागि मापदण्ड नपुगेको उनको भनाइ छ । तोकिएको मापदण्डअनुसार निर्माण सम्पन्न भएपछि तेस्रो किस्ता बापत ७१ हजार ८३३ र चौथो अर्थात् अन्तिम किस्ताबापत २० हजार ५२३ रुपैयाँ पाउने उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।