राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञ टोलीले के खोज्दैछ कर्णालीमा ?

Share News

वैशाख २८, जाजरकोट । कर्णाली प्रदेशका जाजरकोटलगायत डोल्पा र जुम्लामा राष्ट्रिय प्रकृति संरक्षण कोषको विज्ञसहितको टोलीले सम्भाव्यता अध्ययन थालेको छ । लोपोन्मुख जंगली जनावर, जडीबुटी, धार्मिक तथा पर्यटकीयस्थलको सम्भाव्यता अध्ययन गरिन लागेको टोलीका संयोजक वीरेन्द्र बस्नेतले जानकारी दिए । वन तथा वातावरण मन्त्रालयले जाजरकोट, डोल्पा र जुम्लामा एकै पटक पूर्व सम्भाव्यता अध्ययन टोली पठाएर काम थालेको हो ।

शुक्रवारदेखि अध्ययन टोलीले तीनै जिल्लामा अध्ययन थालेको बस्नेतले बताए । समाजशास्त्री, वन्यजन्तु विज्ञ, वनस्पति विज्ञ, जंगलविज्ञ, पर्यटन र संस्कृतिक विज्ञसहितको टालीले तीन जिल्लाका विभिन्न ठाउँमा गएर स्थानीय सरकार, स्थानीयवासी, नागरिक समाजसँग अन्तरक्रिया तथा स्थलगत अध्ययन थालेको हो ।

टोलीले जाजरकोटका नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुशेगाउँपालिका, डोल्पाको मुडकेचुला, जगदुला गाउँपालिका, जुम्लाको गुठीचौर, तातोपानी गाउँपालिकामा काम शुरु गरेको छ । अध्ययन टोलीले दिएको प्रतिवेदनका आधारमा तीन जिल्लाको विशेष क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरिने छ । कर्णालीमा अपार प्रकृतिक सम्पदा, जंगल र जडीबुटी भए पनि लगानी र विज्ञको अभावमा पछि पर्दै आएको बताइएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली हीरा भएकाले यसलाई समुचित प्रयोग गरेर कर्णालीकै विकास गरिने बताए । जाजरकोटमा हाब्रेलगायतका अन्य लोपोन्मुख जनावार पाइने भएकाले संरक्षणमा जोड दिई शे–फोक्सुण्डो र राराजस्ता कर्णालीकै परिचय दिने सम्पदाको विश्वव्यापीकरण प्रचार गर्नसके कर्णालीको परिचय फेरिने उनले बताए ।

मन्त्री बस्नेतले भने, ‘हामी अब विकट, गरीबी अशिक्षा र अभावको परिचयबाट माथि उठेर कर्णालीलाई माथि उठाई विश्वका सामु कर्णाली भन्ने बित्तिकै ध्यान तान्ने बनाउने गुरुयोजनामा छौं, हामीसँग पर्याप्त जंगल, जडीबुटी र जमीन छ, लगानी गरेर यहाँको खास विकास, निकास र समृद्धि हुनेछ ।’

यसैगरी ४१० मेघावाट जलविद्युत् आयोजना जाजरकोटकै पूर्वी क्षेत्र नलगाडमा बन्दै छ भने डोल्पाको जगदुला जलविद्युत् आयोजना निर्माण हुँदै छन् । त्यस्तै भेरी नदीबाट (ए), (वि), (सी) र (डि) लगायतका आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।