५ वर्षमा पनि बनेन प्रशासनिक भवन, ठेकेदारलाई १२ पटकमा ४ करोडभन्दा बढीको भुक्तानी

Share News

वैशाख २८, सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाको प्रशासनिक भवन निर्माण शुरु भएको ५ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा आएर फेरि रोकिएको छ ।

भवन तथा शहरी विकास विभाग डिभिजन कार्यालय सप्तरीले विसं. २०७१ जेठ ११ गते थेगिम इभान्सु इशा सिम्लेश्वर जेभी काठमाडौंलाई ३० महीनाभित्र सम्पन्न गर्ने सम्झौता गरी ५ करोड ३० लाख २१ हजार २९० रुपैयाँमा निर्माणको जिम्मा दिएको थियो । तर पटक–पटक विभिन्न बाहना देखाएर काम रोक्दै आएको कम्पनीले गत माघमा जरीवानासहित चालू आवको असार मसान्तसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने भनी अन्तिम म्याद लिएको थियो । तर सो अवधिमा पनि निर्माण सम्पन्न हुने सम्भावना न्यून छ । झ्यालढोका, विद्युतीकरण, टायल्स जडान, रंगरोगन, चौर निर्माणसहित फिनिसिङको काम बाँकी छ । जिल्ला प्रशासनको सँगै कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय निर्माण एकैसाथ शुरु भएको थियो । अन्य दुवै भवन निर्माण सकिए पनि जिल्ला प्रशासनको भवन बनेको छैन ।

भवन निर्माणको काम शुरु भएयता सिरहामा ५ जना प्रमुख जिल्ला अधिकारी फेरिए । निर्माण सम्झौता गर्दा मोहम्मद अब्दुल कलाम खाँ प्रजिअ थिए । त्यसपछि डा. मानबहादुर विश्वकर्मा, विजय नारायण मानन्धर र श्रीकृष्ण श्रेष्ठले जिल्ला प्रशासनको नेतृत्व सम्हाले । विसं. २०७५ वैशाख ३ गतेदेखि रुद्र प्रसाद पण्डित प्रजिअ छन् । ५ प्रजिअ फेरिए पनि प्रशासनको भवन फेरिन नसक्दा सेवाग्राहीले समेत सास्ती खेप्नुपरेको छ । नयाँ भवन निर्माण नहुँदा पुरानै भवनबाट सेवा प्रवाह गरिरहेको प्रजिअ पण्डितले बताए ।

भवन निर्माण ढिला भैरहँदा ठेकेदार कम्पनीले न्यून गुणस्तरीय सामग्री प्रयोग गरेको समेत फेला परेको छ । विद्युत सप्लाईमा प्रयोग हुने तार, बक्स (मेटल बक्स), शौचालयका सामग्रीहरु कमसल प्रयोग भैरहेको छ । विद्युत सप्लाई गर्न जडान गरिएको बक्समा खिया लागिसकेको छ ।

यता ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधि सलिम राईनले थपिएको म्याद भित्रै निर्माण पूरा गर्ने दाबी गरेका छन् । रकम अभावले काम रोकिएपनि अहिले विस्तारै काम शुरु गरिएको राईनले बताए । कमसल समान प्रयोगबारे सोधिएको प्रश्नमा राइनले भने, ‘इस्टिमेट अनुसारको समान लगाएको छु ।’

ठेकेदारले रकम अभाव भनिरहँदा जिल्ला प्रशासन कार्यालय सिरहाले भने १२ पटक भुक्तानी गरिसकेको छ । भ्याट सहित ५ करोड ३० लाख २१ हजार २९० रुपैयाँको ठेक्कामध्ये ४ करोड ४ लाख ५३ हजार ७३७ रुपैयाँ भुक्तानी गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाका लेखापाल नविन अधिकारीले जानकारी दिएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।