सल्यान (अस) । सल्यानको ग्रामीण भेगका गाउँबस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मूलहरू सुक्दै गएपछि स्थानीय बसाइँ सर्न थालेका छन् भने गाउँबस्ती खाली हुन थालेको छ ।
साविकका निगाल्चुला, कुपिण्डे दह, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे, देवस्थल, दार्माकोट, कजेरी, लेखपोखरा, स्यानीखाल र हिवल्चा लगायतका दर्जनभन्दा बढी गाविसको उच्च स्थानमा रहेका बस्तीमा खानेपानीको अभाव भएको हो ।
खेतीपाती, सिँचाइ तथा अन्य प्रयोजनका लागि त परै जाओस् पिउन समेत पानी नपाउने अवस्था आएपछि स्थानीयवासी घण्टौं पैदल हिँडेर खानेपानीको जोहो गर्न बाध्य भएको स्थानीय झलक बुढाले बताए । गाउँहरूमा खानेपानीको अभाव हुन थालेपछि पशुचौपाया समेत संकटमा पर्न थालेको स्थानीय बताउँछन् ।
‘गाउँमा पानीको स्रोत भएन, मानिस दाङ, सुर्खेत, नेपालगञ्ज र अन्य जिल्लामा बसाइँ सर्न थालेका छन्’ स्थानीय इन्द्र पुनले भने । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेको उनको भनाइ छ । पानीको स्रोत सुक्दै गएकाले वर्षेनि तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेको उनले जानकारी दिए । आकाशे पानी संकलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।