कास्कीमा पुनर्निर्माण सुस्त : ४ वर्षमा साढे ३ सय घर मात्र निर्माण

Share News
कास्की (अस) । कास्कीमा भूकम्पले क्षतिग्रस्त आवास पुनर्निर्माण सुस्त देखिएको छ । यहाँ भूकम्पले ६ हजार २६ घर भत्काए पनि पुनर्निर्माण शुरू भएको ४ वर्षमा जम्मा ३६७ घर मात्रै पुनर्निर्माण भएका छन् । अनुदान कार्यक्रम प्रभावकारी बन्न नसक्दा ढिला गरी थालिएको निजी आवास पुनर्निर्माण सुस्त देखिएको हो । यहाँ मापदण्ड पूरा नगरी निर्माण थालिएका संरचना अलपत्र छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ कार्यालय कास्कीका अधिकृत (फोकल पर्सन) अर्जुन न्यौपानेका अनुसार कास्कीमा २ सय ४२ घरले आंशिक क्षति भएको सूचीमा सूचीकृत भएका छन् । कम क्षति भएकालाई सरकारले प्रबलीकरणबापत १ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँछ । यसमध्ये कास्कीमा १ सय २२ घरले हालसम्म पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बुझेको न्यौपानेले बताए । उनका अनुसार ५ हजार ६२० परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ बुझिसकेका छन् भने २ हजार ३३४ जनाले दोस्रो किस्ता बापतको १ लाख ५० हजार लिइसकेका छन् । तोकिएको मापदण्ड नपुग्दा र परिवारमा सम्पत्ति स्वामित्व हस्तान्तरण लगायतको समस्याले विवरण संकलनका आधारमा पहिलो किस्ता सम्झौता गरी रकम लगे पनि अधिकांशले दोस्रो किस्ता पाउन नसकेको उनको भनाइ छ । ‘भूकम्पपछि तत्काल बस्ने विकल्प नभएपछि निजी लगानीमा घर बनाएकाहरूका लागि भने सम्बन्धित स्थानीय तह गाउँपालिका र नगरपालिकाको सिफारिशमा अनुदान रकम वितरण गर्न निर्देशन छ,’ उनले भने । उनका अनुसार पुनर्निर्माण सम्बन्धी ३ हजार ३८८ गुनासा दर्ता भएका छन् । बढी गुनासो लाभग्राही सूचीमा नपरेको भनी गरिएको छ । थोरै विद्यालयले गरे पुनर्निर्माण सम्झौता कास्कीमा भूकम्पले क्षति पुर्‍याएका १७० विद्यालय भवनमध्ये जम्मा ४३ विद्यालयले पुनर्निर्माणको सम्झौता गरेका छन् । गत वर्ष जम्मा ९ विद्यालयले पुनर्निर्माणको सम्झौता गरेका थिए भने यस वर्ष ३४ विद्यालयले भौतिक पूर्वाधार बनाउने गरी सम्झौता गरेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।