कर्मचारी अभावले कास्की मालपोतको काम सुस्त

Share News
कास्की । जिल्ला मालपोत कार्यालय कास्कीमा कर्मचारी अभावका कारण नियमित काम अवरुद्ध हुन थालेको छ । कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयले कर्मचारीको अभाव देखाउँदै नियमित सञ्चालन हुने अंशबन्डा, लिखतलगायत काममा दैनिक सीमित कोटा तोकेपछिसे सेवाग्राहीहरू सानो कामका पनि हप्तौं पर्खनुपर्ने बाध्यता छ । कार्यालयले लामो समय बितिसक्दा समेत ढिलासुस्ती हटाउनेतर्फ ध्यान नदिएको सेवाग्राहीको गुनासो छ । ‘जनताको घरमा सरकार आयो भनेका छौं, तर कार्यालयमा आउँदा हप्तौंसम्म काम बन्दैन,’ पोखरा–१७ का विनोद थापाले भने, ‘कर्मचारीको उचित व्यवस्थापन नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।’ कार्यालयमा पछिल्लो समय ढिलासुस्ती बढेको लेखनदास पुरुषोत्तम अधिकारीले बताए । ‘फारम भरेर राखेका छौं, ३ दिनपछि मात्र काम हुने भनिएको छ,’ उनले भने । अंशबन्डाका लागि १ हप्तादेखि नियमित धाउँदा समेत काम हुन नसकेको पोखरा–१७ बिरौटाका सुरेश अधिकारीले बताए । ‘कार्यालयका फाँट–फाँटमा घण्टौंसम्म लाइन बस्नुपर्छ,’ उनले भने, ‘दुई–तीन जना कर्मचारी राखेर सेवा दिनुपर्ने ठाउँमा एक जनामात्र छन्, अनि कसरी समयमै काम होस् ।’ कार्यालयले सेवाग्राहीको सुविधाका लागि जिल्लाका विभिन्न स्थानलाई तीनओटा क्षेत्रमा विभाजन गरी टोकन प्रणाली शुरू गरेको छ, जसमध्ये ‘क’मा साविक पोखरा छिनेडाँडा, ‘ख’मा पोखरा क्षेत्र र ‘ग’मा माछापुच्छ्रे गाउँपालिका रहने व्यवस्था छ। टोकन प्राणली तोकिएका तीन क्षेत्रमध्ये ‘क’मा पर्ने पोखरा क्षेत्रमा दैनिक २५ ओटामात्र लिखत पास हुन्छन् भने ‘ख’ र ‘ग’मा पर्ने छिनेडाँडा र माछापुच्छ्रेमा २०–२० ओटा गरी कुल ६५ मात्र लिखत पास हुने गरेका छन् । कार्यालयले कर्मचारी अभाव रहेको बताउँदै दैनिक तीनओटा काउन्टरबाट ६५ मात्र टोकन वितरण गर्ने गरेको जानकारी दिएको छ । कार्यालयले प्रदान गर्ने टोकन साढे १० नबज्दै सकिने र त्यसपछि कार्यालय पुगेका सेवाग्राही रित्तै फर्कनुपर्ने अवस्था छ । जिल्ला मालपोत कार्यालय कास्कीका कार्यालय प्रमुख मालपोत अधिकृत ज्ञानराज पाण्डेले कर्मचारीको अभावका कारण सेवा प्रवाहमा समस्या आएको बताए । ‘कर्मचारीको अभावले सेवाग्राहीलाई नियमित सेवा दिन समस्या भएको छ,’ उनले भने, ‘दरबन्दीअनुसार कर्मचारीको व्यवस्था गर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएका छौं, तर कार्यान्वयन हुन सकेको छैन ।’ उनका अनुसार कार्यालयमा ४८ जना कर्मचारीको दरबन्दी छ । तर हाल जम्मा २८ जना कर्मचारी मात्र कार्यरत छन् । २८ कर्मचारीमध्ये कार्यालयमा ६ जना अधिकृत र १७ जना सुब्बाको दरबन्दी भए पनि चारजना मात्र कार्यरत छन् । यस्तै १८ जना दरिदारको दरबन्दी रहेकोमा ५ जनामात्र कार्यरत छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।