बुद्धिमान पुन
सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले नगर प्रहरी भर्ना गरेको छ । उक्त गाउँपालिकाले जिल्लामै पहिलोपटक नगरप्रहरी भर्ना गरेको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएअनुसार पहिलो चरणमा तीन युवालाई नगर प्रहरीमा भर्ना गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए । गाउँपालिका क्षेत्रका स्थानीय जीवन विक, केशव वली र गोमा बुढालाई नगर प्रहरीमा भर्ना गरिएको उनले जानकारी दिए । नगर प्रहरी भर्नाका लागि गाउँपालिकाले केही दिन दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएकामध्ये छनोट गरेर उत्कृष्टलाई नगर प्रहरीमा भर्ना गरिएको अध्यक्ष डाँगीले बताए । नगर प्रहरीमा भर्ना भएका तीन जनालाई इलाका प्रहरी कार्यालय लुहाममार्फत १५ दिनको आधारभूत तालीम प्रदान गरिएको छ ।
उनीहरूलाई गाउँपालिकाको सुरक्षा, विपद् व्यवस्थापन लगायत भइपरी आउने सम्पूर्ण काममा खटाइने गाउँपालिकाले बताएको छ । ‘आगामी दिनमा आवश्यकताका आधारमा थप नगरप्रहरी भर्ना गर्न सकिन्छ,’ अध्यक्ष डाँगीले भने । नगर प्रहरीले बिहान ६ देखि बेलुका ७ बजेसम्म ड्युटी गर्दै आएका छन् । उनीहरूको मासिक तलब रू. १३ हजार तोकिएको छ भने रासन भत्ताका लागि थप ४ हजार प्रदान गरिनेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।