सिरहा (अस) । सिरहाको जिल्ला प्रशासन कार्यालय (जिप्रका) भवनको निर्माण ५ वर्षअघि शुरू भए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । कोष तथा लेखा नियन्त्रण कार्यालय परिसरमा निर्माणाधीन सो भवन निर्माण अन्तिम चरणमा पुगे पनि काम रोकिएको छ ।
भवन तथा शहरी विकास विभाग डिभिजन कार्यालय सप्तरीले २०७१ जेठ ११ गते थेगिम इभान्सु इशा सिम्लेश्वर जेभी काठमाडौंसँग साढे २ वर्षभित्र भवनको निर्माण सक्ने गरी सम्झौता गरेको थियो । भवन निर्माणको लागत ५ करोड ३० लाख रहेको थियो । तर, निर्माण कम्पनीले विभिन्न बहानामा भवनको निर्माण रोक्दै आएको छ ।
गत माघमा जरीवानासहित म्याद थप गरिए पनि निर्माण कम्पनीले काम सक्न तदारुकता देखाएको छैन । असार मसान्तसम्म काम सकेर हस्तान्तरण गर्न जिप्रकाले समयसीमा तोकेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले झ्याल ढोका, विद्युतीकरण, टायल्स जडान, रंगरोगन, चौर निर्माणसहित फिनिसिङ काम लगायतका निर्माण बाँकी रहेको जानकारी दिए ।
जिप्रकासँगै कोष तथा लेखा नियन्त्रण कार्यालय र राष्ट्रिय अनुसन्धान विभागको कार्यालय निर्माण शुरू भएको थियो । अन्य दुवै कार्यालयको निर्माण सकिएको छ । जिल्लामा सरकारी वा सार्वजनिक निर्माणहरू ढिलाइ र कमसल निर्माण भएमा त्यसको निगरानी राख्ने जिप्रका आफ्नै भवन वर्षौंदेखि अलपत्र पर्दा निरीह देखिएको छ ।
ठेकेदार कम्पनीका स्थानीय प्रतिनिधि सलिम राइनले थपिएको म्यादभित्रै निर्माण पूरा गर्ने दाबी गरे । रकम अभावले काम रोकिए पनि अहिले विस्तारै काम शुरू उनको भनाइ छ । ठेकेदारले रकम अभाव भनिरहँदा जिप्रकाले १२ पटक रकम भुक्तानी गरिसकेको छ । भ्याटसहित ५ करोड ३० लाख रुपैयाँ भुक्तानी गरिएको जिप्रकाका लेखापाल नवीन अधिकारीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।