सुकमाया थापा
डोल्पा । डोल्पाका यार्सागुम्बा पाटनहरू जेठ १३ गतेदेखि खुला गरिने भएको छ । जिल्लामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । जिल्लाका सामुदायिक वन, राष्ट्रिय वन र निकुञ्ज क्षेत्रमा पर्ने सबै पाटनहरू यार्सागुम्बा संकलनका लागि खुला गरिनेछ ।
जिल्लामा करीब तीन सयभन्दा धेरै यार्सागुम्बा पाइने पाटनहरूमा संकलकलाई एकसाथ प्रवेशका लागि अनुमति दिन यस्तो निर्णय गरिएको बताइएको छ । तीन हजार पाँच सयदेखि पाँच हजार मिटरसम्मको उचाइमा मात्र पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका लागि हरेक वर्ष हजारौं सर्वसाधारण डोल्पा आउने गर्दछन् ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्बा संकलकहरूका लागि तीन किसिमको संकलन इजाजत पुर्जी जारी गरेको छ, जसमा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि पाँच सय, जिल्लाभित्रका नागरिकका लागि दुई हजार र जिल्लाबाहिरका नागरिकका लागि तीन हजार राजस्व शुल्क निर्धारण गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोद यादवले जानकारी दिए ।
प्रवेश शुल्कबाहेक हरेक व्यक्तिले सेवा शुल्कस्वरूप पाँच सय रुपैयाँ छुट्टै तिर्नुपर्ने बताउँदै यादवले यार्सा पाइने वन क्षेत्रभित्र मदिरा, जुवातासलगायत खेलकुद र मनोरञ्जनका कुनै पनि क्रियाकलापमा निषेध गरिएको जानकारी दिए । यार्सा व्यवस्थापनसम्बन्धी विभिन्न निर्णय गर्दै संकलकहरूले ढुक्कसम्म यार्सागुम्बा संकलन गर्न पाउने वातावरण सृजना गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी समूह बनाएर यार्सागुम्बा पाटनमा खटिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
यसवर्ष डोल्पामा दर्जनौं पटक भएको हिमपातका कारण पाटनहरूमा दशौं फिट हिउँ जमेकाले पछि परिआउने विपत्तिलाई लक्षित गर्दै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आपत्कालीन उद्धार टिमसमेत खटाइने उनको भनाइ छ । लामो समयसम्म हिमपात भएका कारण यस वर्ष केही ढिलो गरी खुलाइने भएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जानकारी दिए । यार्सागुम्बा डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यानका बासिन्दाका लागि समेत मुख्य आम्दानी स्रोत बन्दै आएको छ ।
यार्सागुम्बाको शुल्कबाट चल्दै आएको विद्यालय बन्द हुँदै
ठूलीभेरी नगरपालिका–६ को लक्ष्मी माध्यमिक विद्यालय बन्द हुने अवस्थामा पुगेको छ । दश वर्षअघि निजी स्रोतबाट सञ्चालन गर्न स्थापना गरिएको उक्त विद्यालय आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको हो । यार्सागुम्बा संकलन पुर्जी वितरणबाट आएको शुल्कबाट सञ्चालन हुँदै आएको विद्यालय पछिल्लो समयमा यार्सागुम्बाको शुल्कमा ह्रास आउन थालेपछि बन्द हुने अवस्थामा पुगेको प्रधानाध्यापक गगन बुढाले जानकारी दिए ।
समुदायले प्रत्येक वर्ष माध्यमिक तहमा पढाउने शिक्षकलाई यार्सागुम्बा संकलन पुर्जी वितरणबाटै ५० लाखसम्म व्यहोर्दै आएको छ । निजी स्रोतबाट लाखौं रुपैयाँ व्यवस्था गर्न नसकिने भएकाले आवश्यक दरबन्दीको व्यवस्था नगरे यसै आर्थिक वर्षमा विद्यालय बन्द गर्नुपर्ने प्रधानध्यापक बुढाले बताए । समुदायले रकम जम्मा गर्न नसकेकै कारण माध्यमिक तहमा अध्यापन गराइरहेका शिक्षकहरूले लामो सयमदेखि तलब पाएका छैनन् ।
पछिल्लो समयमा यस क्षेत्रका यार्सागुम्बा पाटनमा यार्सागुम्बा संकलनका लागि आउने सर्वसधारणको संख्यामा कमी आएसँगै संकलन इजाजत पत्र वितरणबाट प्राप्त हुने शुल्कसमेत घटेको स्थानीय बताउँछन् । विद्यालयमा दुई सयभन्दा बढी बालबालिका अध्ययनरत छन् । यार्सागुम्बाको शुल्कबाट विद्यालय सञ्चालन नहुने भएपछि स्थानीय सरकारले आर्थिक व्यवस्थापन गरिदिनुपर्ने माग वडाध्यक्षले गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।