पर्वत (अस) । पर्वतको महाशिला गाउँपालिका–६ फलामखानीमा एक व्यक्तिले विद्यालयलाई २४ रोपनी जग्गा दान गरेका छन् । समाजसेवी तथा पूर्व राजसभा सदस्य शेरबहादुर गुरुङले शुक्रवार सोही वडामा रहेका फलामखानी आधारभूत विद्यालयलाई १० रोपनी र मदन–आश्रित माध्यमिक विद्यालयलाई १४ रोपनी जग्गा प्रदान गरेका हुन् । उक्त जग्गाको मूल्य २४ लाखबराबर रहेको बताइएको छ ।
फलामखानी आधारभूत विद्यालयमा गुरुङले गरीब तथा जेहेनदार विद्यार्थीका लागि १ लाख ५० हजारको अक्षयकोष स्थापना समेत गरेका छन् । यस्तै उनले मदन–आश्रित माविको शैक्षिक स्तरोन्नतिका लागि ८ लाख दिने घोषणा गरेको विद्यालयका प्रअ खड्कबहादुर क्षेत्रीले जानकारी दिए । यसअघि पनि विद्यालयमा मावि सञ्चालनका लागि गुरुङले १ लाख ६८ हजार सहयोग गरेका थिए । आफ्नो जन्मभूमिमा रहेका विद्यालयको शैक्षिक प्रगतिका लागि आफूले निःशुल्क जग्गा प्रदान गरेको बताउँदै गुरुङले आगामी दिनमा पनि आर्थिक तथा भौतिक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । वडा कार्यालयले उनलाई सम्मान गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।