व्यवसायीमैत्री नीति बनाउन माग

Share News
वीरेन्द्रनगर (अस) । सरकारले बनाउने नीति व्यवसायीमैत्री हुनुपर्ने सुर्खेतका निर्माण व्यवसायीले औंल्याएका छन् । सोमवार निर्माण व्यवसायी एकता समाज, सुर्खेतको १९औं साधारणसभामा सहभागी व्यवसायीले अहिलेका सबै तहका सरकारले बनाउने नीति व्यवसायीको पक्षमा हुनुपर्ने धारणा राखेका हुन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य खगेन्द्रप्रसाद पोखरेलले निर्माण र खरीदसँग सम्बन्धित नीति निर्माण व्यवसायीको पक्षमा नभए देशको पूर्वाधार विकासमा समस्या उत्पन्न हुने बताए । मुलुकको पूर्वाधार गुणस्तरीय बनाउन निर्माण व्यवसायीलाई काम गर्न अनुकूल हुनेगरी नीति बनाउन सरकारसँग उनले आग्रह गरे । निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष पूर्णबहादुर मल्लले सरकार निर्माण व्यवसायीप्रति अनुदार भएको गुनासो गरे । नीति, नियमदेखि विभिन्न निर्देशनमार्फत व्यवसायीलाई मार पर्ने कार्य सरकारबाट भइरहेको मल्लले बताए । ५ करोडभन्दा मुनिका निर्माणका काम जिल्लाभित्रकै निर्माण व्यवसायीले गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने गर्नुपर्ने उनले औंल्याए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।