पर्वतका ४० होमस्टेसँग अनुदान सम्झौता

Share News
पर्वत । पर्वतमा ४० ओटा होमस्टेले सरकारबाट पाउने अनुदान लिन सम्झौता गरेका छन् । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले दिने अनुदानका लागि जिल्लाका ४२ होमस्टे छनोट भएकोमा ४० ओटाले अनुदान सम्झौता गरेका हुन् । स्तरोन्नतिका लागि प्रत्येक होमस्टेलाई रू. १० लाख अनुदान दिइने भएको छ । छनोटमा परेकोमा दुईबाहेक अरूले अनुदान सम्झौता गरेर पहिलो किस्ताको रकम बुझेका छन् । डिभिजन वन कार्यालयमार्फत अनुदान वितरण गरिँदै छ । कार्यालयका प्रमुख अशोक श्रेष्ठले अनुदान सम्झौता गरेकाले पहिलो किस्ताबापत ३ लाख रुपैयाँ दिइएको जानकारी दिए । ‘किस्ताकिस्तामा रकम दिने कार्यविधि तोकिएको छ,’ उनले भने, ‘कार्यविधिमा टेकेर पहिलो किस्ताको तीन लाख रुपैयाँ बुझाइसकेका छौं ।’ अनुदान पाएका होमस्टे सञ्चालकले पूर्वाधार विकास, कोशेली घर निर्माण, सूचना केन्द्र, सामुदायिक भवन निर्माण, सभागृह, प्रदर्शनी स्थल, हस्तकला केन्द्र निर्माण गरेर बजेट खर्चिनुपर्ने कार्यविधिमा उल्लेख छ । जिल्लाको पर्यटकीय सम्भावना रहेका स्थानमा होमस्टे सञ्चालन गर्न नयाँ होमस्टे दर्ता गरी अनुदान सम्झौता गरिरहेका छन् । पर्वतको मोदी गाउँपालिका–८ चित्रे, कुश्मा नगरपालिका–१४, आर्थर, महाशिला गाउँपालिका–५, लुँखु, पैयुँ गाउँपालिका–२, त्रिवेणी, जलजला गाउँपालिका–५, लेकफाँट, शालिजा, फलेवास–२, थापाठाना लगायतका ठाउँमा होमस्टे सञ्चालन भइरहेका छन् । सरकारले अनुदान दिने भनेपछि नयाँ होमस्टे थपिएको पाइएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेशका ११ जिल्लामा ३ सय होमस्टेको स्तरवृद्धि गर्न बताएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार पर्वतमा ४२, स्याङ्जामा ४३, म्याग्दीमा ९, गोर्खामा १४, तनहुँमा ४०, कास्कीमा २२, लमजुङमा २०, मुस्ताङमा ३, बागलुङमा १९ र नवलपुर (पूर्व) मा ९ ओटा होमस्टेलाई अनुदान वितरण गर्न छनोट गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।