वडाध्यक्षको निर्देशनमा घर तोडफोड र कुटपिट

Share News
सौरभ यादव राजविराज । जनप्रतिनिधिको ठाडो आदेश र स्थानीय प्रहरीको उपस्थितिमा शम्भुनाथ नगरपालिका–३ स्थित एक गरीब व्यक्तिको घर तोडफोड गरिएको छ । ट्राफिक प्रहरी कार्यालयको छेउमै रहेको ललन साहको घरलाई वडाध्यक्ष शत्रुघ्न चौधरीको ठाडो आदेशमा नगरपालिकाको डोजर प्रयोग गरी आइतवार तोडफोड गरिएको हो । घर तोडफोड गर्ने क्रममा ललन साहलाई वडाध्यक्षकै निर्देशनमा उनले बोलाएका व्यक्तिहरूले नियन्त्रणमा लिएर कुटपिट गर्दै घर निकाला गरेको स्थानीयहरूले बताएका छन् । कुटपिटबाट साह बेहोस हुँदा पनि प्रहरीले रोक्न पहल नगरेको स्थानीयको आरोप छ । साहकी श्रीमती श्यामकुमारीले भनिन्, ‘राजमार्ग हुँदै रुपनी प्रहरीलाई खबर गर्न जाँदै थिए, वडाध्यक्षकै निर्देशनमा आएका केही व्यक्तिले मेरो साडी समातेर जान दिएनन्, तर म जसोतसो अर्धनग्न अवस्थामा प्रहरीसमक्ष पुगेँ ।’ तर, प्रहरीले अन्यत्र घर बनाउन भन्दै झपारेको उनले बताइन् । घाइते साहको अहिले रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा उपचार हुँदै छ । दुई दशकदेखि रिक्सामा चटपटे विक्री गर्दै आएका साह सोही समयदेखि ऐलानी जग्गामा घर निर्माण गरेर बसोबास गर्दै आएका थिए । चौधरीले बारम्बार साहसँग रकम मागेको र ७ लाख रकम नदिए घर भत्काउने चेतावनी दिएको श्याम कुमारीले बताइन् । आइतवार नै पीडित श्यामकुमारीले घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दर्ता गराएकी छिन् । घर तोडफोड भएपछि हाल श्याम कुमारी भत्केकै घरमा छिमेकीको सहयोगमा तीन बालबालिकासँग बस्दै आएकी छिन् । उक्त क्षेत्रमा अधिकांश जग्गा ऐलानी नै छ । साह परिवार जस्तै अन्य व्यक्तिले सोही स्थानमा पक्की घर निर्माण गरी बस्दै आएका छन् । रूपनी–२ का स्थानीय सहस्रराम चौधरीले घाइते साहलाई औषधी उपचार तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति माग गरे । राजपाका जिल्ला युवा नेता दिनेशकुमार यादवले जनप्रतिनिधिको गुण्डागिरी शैलीले सो क्षेत्रका स्थानीय त्रसित बन्दै आएको बताए । उनले वडाध्यक्षलाई कानूनी कारबाहीको माग गरे । वडाध्यक्ष चौधरीले साहले जबर्जस्ती जग्गा अतिक्रमण गरेपछि खाली गराएको बताए । बजार व्यवस्थापन समितिले सो क्षेत्रमा साहका बुबालाई ८ मिटर ऐलानी जग्गा नापी गरेर भोग गर्न दिइसकेको अवस्थामा साहले पुनः अर्को जग्गा अतिक्रमण गरेकोले जग्गा खाली गराएको उनको दाबी छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।