शैक्षिक गुणस्तरमा सरकारी विद्यालयको फड्को

Share News
कास्की । सरकारी विद्यालयको गुणस्तर खस्कँदै गएको बेला पोखराको एक सरकारी विद्यालयमा भने वर्षेनि विद्यार्थीको भीड लाग्ने गरेको छ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित सरस्वती टीका माध्यमिक विद्यालयले नयाँ प्रविधिको प्रयोग र अंग्रेजी माध्यमबाट पठनपाठन थालेसँगै वर्षेनि विद्यार्थी बढ्दै गएका हुन् । गुणस्तरीय शिक्षाका लागि सूचना प्रविधिमार्फत अध्यापन हुन थालेपछि विद्यालयले यतिबेला फड्को मारेको छ । विद्यालयमा ४ वर्षकै अवधिमा करीब १२ सय विद्यार्थी पुगेका छन् । ई–लाइबेरी, प्रावि तहमा श्रव्यदृश्य सामग्री र अन्य तहमा प्रोजेक्टर लगायत प्रविधिको प्रयोगले विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । अंग्रेजी माध्यम र प्रविधिको प्रयोग हुनुअघि विद्यार्थी कम भएर चिन्तित बनेका शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी यतिबेला दंग देखिएका छन् । २०७१ सालमा ३५० विद्यार्थी रहेकामा विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन थालेपछि २०७२ मा मात्र २ सय ५३ थपिएका थिए । त्यसैगरी २०७३ सालमा ६९१, २०७४ सालमा ९४०, २०७५ सालमा १ हजार ७६ र २०७६ सालको शैक्षिक सत्रमा १ सय ८७ विद्यार्थी थपिएपछि कुल विद्यार्थी संख्या ११ सय ८७ पुगेको विद्यालयले बताएको छ । न्यून शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिन सकेकाले नै विद्यार्थी उल्लेख्य बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले बताए । ‘विद्यालयका शिक्षकदेखि कर्मचारीसमेतका छोराछोरी यसै विद्यालयमा अध्ययन गर्नाले अभिभावक र विद्यार्थीमा सकारात्मक प्रभाव पारेको छ,’ उनले भने, ‘अंग्रेजी माध्यम, प्रविधिको प्रयोग, उत्कृष्ट नतीजा र चुस्त व्यवस्थापन नै हाम्रो सफलताका आधार हुन् ।’ विद्यालयमा अध्यापनरत राम्रा शिक्षकलाई सरकारले तोकेको भन्दा बढी सेवासुविधा प्रदान गरिएको अध्यक्ष आचार्यले बताए । ‘गतवर्ष विद्यालयले उत्कृट नतीजा ल्याएको छ,’ उनले भने, ‘यसले हामीमा उत्साह थपिएको छ ।’ विद्यालयले समयसापेक्ष गुणस्तरीय शिक्षा दिने योजना बनाएर २०७१ सालदेखि अंग्रेजी माध्यमबाट पढाइ शुरू गरेको प्रधानाध्यापक नन्दलाल काफ्लेले बताए । उनका अनुसार विद्यार्थीको सुविधाका लागि विद्यालयले तीनओटा बससमेत सञ्चालानमा ल्याएको छ । ‘विद्यालयमा नयाँ प्रविधि, उत्कृष्ट खेल मैदान, यातायताको सुविधा र ई–लाइब्रेरीले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन सघाउ पुगेको छ,’ उनले भने । विद्यालयले २०७१ सालदेखि वर्षे र हिउँदे बिदाका रूपमा दिँदै आएको बिदा कटाएर नियमित पठनपाठन गराउँदै आएको छ । विद्यार्थीको मूल्यांकन प्रणालीलाई प्रभावकारी बनाउन वर्षमा चार चरणमा परीक्षा लिने गरेको छ । अंग्रेजी माध्यमबाट पढाउँदा अभिभावकले केही शुल्क विद्यालयलाई तिर्नुपर्छ । विद्यालयमा २३ सरकारी र ३१ निजी स्रोतका शिक्षक छन् । नयाँ प्रविधिको प्रयोग विद्यालयले यस वर्षदेखि प्रविधिमा आधारित नमूना कक्षा सञ्चालनमा ल्याउँदै छ । विद्यालयमा प्रविधिको प्रयोगका लागि सञ्चार मन्त्रालयमार्फत आईसीटी ल्याब कार्यक्रम स्वीकृत भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आचार्यले जानकारी दिए । अध्यक्ष आचार्यका अनुसार आईसीटी ल्याब कार्यक्रमसँगै केही कक्षालाई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराउन नमूना कक्षा सञ्चालन गरिनेछ । ‘शुरूमा कक्षा ७ देखि १० सम्मलाई नमूना कक्षाका रूपमा विकास गर्ने योजना छ,’ उनले भने । यस्तै, विद्यालयले अघिल्लो वर्षदेखि ‘सरस्वती टीका’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । उक्त एप्समार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे–नपुगेको, गृहकार्य गरे–नगरेको लगायतबारे घरबाटै जानकारी पाउन सक्ने व्यवस्था छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।