दीपेश पौडेल
रौतहट । रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठास्थित तरकारी संकलन केन्द्र उपयोगविहीन रहेको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको पहलमा भवन निर्माण गरिएको हो । केन्द्र निर्माणका लागि स्थानीय मंगल सिंहले १० कठ्ठा जमीन दिएका थिए ।
केन्द्रका लागि दुईटा भवन र एउटा तरकारी राख्ने टहरा बनाइएको थियो । करीब १ करोडको लागतमा भवन बनेको थियो । अहिले भवन अलपत्र छ भने टहरामा व्यापारीले भैंसी बाँध्ने गरेका छन् । तत्कालीन समयमा गाउँभारिका किसानले उत्पादन गरेका तरकारी केन्द्रमा संकलन गरी विक्री गर्दा सजिलो भएको सम्झिन्छन्, सरुअठाका तरकारी किसान शेख सकिल ।
तर, अहिले उत्पादन भएको तरकारी हाटबजारमा लगेर बेच्नुपर्र्ने बाध्यता छ, जसका कारण तरकारीको मूल्यमा समेत एकरूपता आउन नसकेको उनले बताए । अहिले सो स्थानमा भारतबाट ल्याइने भैंसी राखेर राजधानी लगायतका शहरमा लैजाने गरिएको छ ।
केही दिनअघि पूर्वमन्त्री तथा नेकपाका सांसद प्रभु साहले भवनलाई सदुपयोग गर्नुपर्ने भन्दै स्थलगत अवलोकन समेत गरेका थिए । युमनामाई–४ का वडाध्यक्ष चेतनारायण राय यादवले भवनलाई फलफूल तथा कृषि बजारका रूपमा प्रयोग गर्ने बताए । भवनलाई चाँडै नै सदुपयोगमा ल्याउनन गाउँपालिकामा छलफल भइरहेको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।