पेट्रोलियम पाइप लाइन बिछ्याउन अढाई किमि मात्र बाँकी

Share News

जेठ ३, वीरगञ्ज । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २ दशमलव ५ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ । बहुप्रतिक्षित् आयोजनाको रूपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन बिछ्याउने काम धमाधम भइरहेको परियोजना कार्यालय सिमराले जानकारी दिएकोे छ ।

नेपालको ‘लाइफ लाइन’को रूपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम ६७ दशमलव ७ किलोमिटरसम्म सम्पन्न भइसकेको र अब करीब २ दशमलव ५ किलोमिटर क्षेत्रमा मात्र काम बाँकी रहेकोे छ ।  पाइपलाइन बिछ्याउने क्षेत्रमा करीब नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले सो क्षेत्रमा ६ हजार ५०० ठूलासाना रुख काटिने काम सम्पन्न भइसकेको छ भने रुखको जरा उखेल्ने काम धमाधम भइरहेको पेट्रोलियम पाइप लाइन विस्तार आयोजना सिमराका इञ्जिनीयर शरद पौडेलले जानकारी दिए ।

उनले भने, ‘काटिएका रुखको जरा उखेल्न समस्या भए पनि सो काम तीव्रगतिमा भइरहेको छ ।’ पाइपलाइन विस्तार गर्ने क्रममा निकुञ्ज क्षेत्रभित्र काटिएको रुख भएको ठाउँमा पुनः वृक्षरोपण गर्न नेपाल आयल निगमले निकुञ्जलाई पाँच वर्षसम्मका लागि १ लाख ४७ हजार २०० रुख रोप्न रू. १ करोड ३९ लाख ६७ हजार ५२ क्षतिपूर्ति दिएको सहायक संरक्षण अधिकृत अशोककुमार रामले बताए ।

अब २ दशलव ५ किलोमिटर क्षेत्रभित्र जमीनमुनि पाइप बिच्छ्याउने काम सम्पन्न भएपछि बाँकी रहेका प्रक्रिया पूरा गरी पाइप लाइनबाट पेट्रोलियम पदार्थ आउने विश्वास व्यक्त गरिएको छ । वि.सं. २०७४ चैतको अन्तिम साता भारत भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्तरूपमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेपछि यसले गति लिँदै जमीनमुनि पाइप ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगञ्जसम्म ७० दशमलव २ किलोमिटर लम्बाइ भएको सो पाइप लाइन रू. २७५ करोडको लागतमा निर्माण भइरहेको छ । जसमध्ये भारत सरकारको रू.२०० करोड तथा नेपाल सरकारको रू. ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन कार्यालय सिमराले बताएको छ । जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रंगको पाइप राखिएकाले खिया भने लाग्दैन । यो परियोजना सञ्चालमा आएपछि नेपाल–भारतको रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास गरिएको छ । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।