जेठ ४, सुर्खेत । निर्माण व्यवसायीको लापरवाहीले कर्णाली प्रदेशका दर्जनौं विकास निर्माणका योजना अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्ने प्रवृत्तिका कारण प्रदेशमा विकास निर्माणका योजना अलपत्र परेका हुन् । निर्माण कम्पनीले काम नगर्दा स्वास्थ्य संस्थाका भवन, पुल, खानेपानी आयोजना अलपत्र परेको पश्चिम सुर्खेतका समाजसेवी काशीराम देवकोटाले बताए । उनले काम गर्न नसकी ठेकेदार भागेपछि प्रदेशमा तीन दर्जन बढी विकास निर्माणका काम अलपत्र परेको बताए । उनका अनुसार अलपत्र भवनमध्ये धेरैजसो स्वास्थ्य संस्थाको भवन निर्माण १० वर्षदेखि अलपत्र अवस्थामा छन् ।
यहाँका जिल्लामा औषधि उपचारको अभावमा वर्षेनि मातृ–शिशु मृत्युदर बढ्दै गएपछि सरकारले यस क्षेत्रका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही अनुरुप साविकको डिभिजन कार्यालयले सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा बर्थिङ सेन्टर स्थापनासँगै स्वास्थ्य चौकीको लागि भवन निर्माणको काम थालेको हो । तर, ठेकेदार कम्पनीको उदासीनताले समयमै भवन निर्माण नहुँदा ग्रामीण भेगका महिलाहरु अझै पनि असुरक्षित रुपमा सुत्केरी हुन बाध्य छन् । सुर्खेतको कटकुवा हेल्थपोष्ट भवनसँगै गुटु र छिन्चुको निर्माणाधीन स्वास्थ्य चौकी अलपत्र छन् । दैलेख र जाजरकोटका स्वास्थ्य संस्थाको अवस्था यस्तै छन् ।
यी भवन निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीलाई पत्राचार, लिखित र फोन ताकेता गरेपनि अटेरी गरेको सरकारी अधिकारी बताउँछन् । अलपत्रमध्ये अधिकांश भवन निर्माण ठेक्का जिएम कन्स्ट्रक्शन प्रालिले पाएको छ । उसले सुर्खेतमा मात्र तीन ओटा सरकारी कार्यालय भवनको ठेक्का पाएको छ । जसमा जिल्ला कारागार, क्षेत्रीय वायर हाउस र कटुकुवा स्वास्थ्य चौकीको भवन छन् । कमसल सामग्री प्रयोग गरी अनियमितता भएको समाचार आएपछि सो कम्पनी सम्पर्कमा नआएको हो । जिल्लामा हुनसक्ने प्रकोप तथा विपद् व्यवस्थापन गर्न सजिलो होस् भनेर वीरेन्द्रनगरमा वायर हाउस निर्माण थालिएको थियो । तर, ७ वर्ष वितिसक्दा समेत निर्माण पूरा हुने देखिँदैन । यो भवन तीन करोड रुपैयाँमा निर्माण हुन लागेको थियो ।
सुर्खेतका कटकुवा हेपो, छिन्चु, गुटु, र काफलकोट लगायतका स्थानमा निर्माण गर्न लागिएका स्वास्थ्य संस्थाको भवन निर्माण कार्य अझै सकिएको छैन । दुई वर्षमा सकिने काम ठेकेदारको चरम लापरवाहीले १० वर्षभन्दा बढी बितिसक्दा समेत निर्माण कार्य पूरा भएका छैनन् ।
शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाईले निर्माणाधीन भवनको अनुगमन तथा अन्य हेरचाहको काम नगर्दा थप समस्या भएको छ । भवन निर्माण अलपत्र परेपछि विभिन्न स्वास्थ्य सेवाहरुको व्यवस्थापनमा निकै कठिनाइ भएको सम्बद्ध जिल्लाका स्वास्थ्य प्रमुखहरु बताउँछन् । जाजरकोटमा निर्माण भइरहेकामध्ये अधिकांश भवनहरु वर्थिङ सेन्टरहरु रहेका छन् । भवन निर्माणको जिम्मा लिएका ठेकेदारहरुले आफनो लाइसेन्स नै नवीकरण नगर्ने, कामको जिम्मा आफूले नगरेर अर्को व्यक्तिलाई दिने गरेका कारण भवन निर्माणको काम अलपत्र परेका हुन् ।
६ वर्षअघि निर्माण सम्पन्न हुनु पर्ने जाजरकोट अस्पतालको प्रसूति भवन अहिलेसम्म बनेको छैन । फ्रेण्ड्स कन्ट्रक्शन प्रालि काठमाडौंका पुष्पराज बजगाईंले २०६८ चैत २६ मा ठेक्का लिई २०७० जेठ २५ मा काम सक्ने सम्झौता गरेका थिए । तर, अहिलेसम्म अस्पतालको प्रसूति गृह निर्माण भएको छैन । सात वर्षसम्म पनि काम पूरा नहुँदा जिल्ला अस्पतालको दैनिक सेवा प्रवाह प्रभावित हुँदै आएको छ । जिल्ला अस्पतालमा गतिलो भवन नहुँदा आवश्यक उपकरण राख्न र शल्यक्रिया गर्ने ठाउँका साथै बिरामी कक्षको समेत अभाव हुने गरेको छ । दैनिक जिल्ला अस्पातलमा आउने बिरामीको गाली खानुपरेको र गुनासो सुन्नु परिरहेको अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले बताए ।
न पुल बन्यो न सडक त्यस्तै जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटर चल्ने पुल ८ वर्षदेखि अलपत्र छ । यो पुल निर्माण नहुँदा पश्चिम क्षेत्रका छेडागाड नगरपालिका तथा जुनि चाँदे, शिवालय र कुशे गाउँपालिकाका स्थानीयवासी समस्यामा परेका छन् । छेडागाड–जुम्ला सडक खण्डभित्र पर्ने यो पुल निर्माण नहुँदा सडकको थप स्तरोन्नतिको काम समेत प्रभावित भएको स्थानीय सरकारले बताएका छन् । ‘निर्माण व्यवसायीलाई धेरैपटक सम्पर्क गर्न खोज्यौं, तर उहाँहरुले हामीलाई वास्ता गर्नुभएन,’ छेडागाड नगरपालिका मेयर लालबहादुर महतराले भने । लामातडा–गर्खाकोट सडकलगायतका दर्जनौं आयोजना अलपत्र छन् ।
छिन्चु–जाजरकोट सडक खण्डको भेरी नगरपालिकाको पासागाड खोला पुल पाँच वर्षदेखि निर्माणको सुरसारसम्म छैन । अन्य सडक निर्माणका काम पनि वषौंदेखि अलपत्र अवस्थामा हुँदा स्थानीयवासी पीडित बनेका छन् । यता सुर्खेतको रानीघाट, चिङ्गाढ खोला पुल पनि ठेकेदारकै बेइमानीले अलपत्र परेका छन् । कर्णाली राजमार्गका ९ ओटा पुल ७ वर्षदेखि अलपत्र छन् ।
करोडौंका ठेक्का लिने तर बीचमै काम छाडेर भाग्ने निर्माण व्यवसायीको गैरजिम्मेवारीका कारण कर्णालीवासी हैरान भएका छन् । वर्षेनी अधुरा काम पूरा गर्न सांसददेखि मन्त्रीसम्मलाई स्थानीयवासीले ज्ञापनपत्र बुझाए पनि सरोकारवाला निकायले गम्भीरता नदेखाउँदा कर्णालीको विकास निर्माणले गति लिन सकेको छैन ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।