राजमार्गको अवरोध हटाउन सल्यानमा पहल

Share News
सल्यान (अस) । राप्ती राजमार्गमा हुने अवरोध हटाउन सल्यानमा पहल थालिएको छ । राप्ती राजमार्ग अन्तर्गत दाङ सिमानादेखि सल्यान र रुकुम सिमानासम्मको सडकमा हुने अवरोध हटाउन थालिएको हो । राजमार्गमा जथाभावी गाडी पार्किङ, निर्माणका सामग्री सडकमा थुपार्ने, सडक अवरोध र चक्काजाम गर्ने जस्ता कार्य नियन्त्रण गरिने जिल्ला प्रशासन कार्यालयले बिहीवार निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी चूडाराज न्यौपानेले विभिन्न बहानामा राजमार्ग अवरोध गरे तत्काल कानूनी कारबाही अगाडि बढाइने बताए । अवरोध भएको सडक खुलाउन आवश्यक पर्ने औजार, उपकरण तथा जनशक्ति र सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायमा उपलब्ध अन्य स्रोतसाधनको विवरण तयार पारेर परिचालन गरिने भएको छ । सडक प्रयोग तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।