डोल्पा (अस) । यार्सागुम्बाको अवैध चोरी निकासी रोक्न डोल्पामा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरू गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्न जिल्लाका यार्सापाटनमा सुरक्षा गस्ती गर्न थालिएको हो । पाटनमा हुने अवैध तस्करी नियन्त्रणका लागि जिल्लाका विभिन्न पाटनमा ठूलोे संख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटाइएको छ । निकुञ्जभित्र पर्ने यार्सापाटनमा गस्तीका लागि नेपाली सेना खटाइएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
जेठ १३ गते मात्र यार्सागुम्बा संकलनका लागि यार्सापाटन खुला गर्ने निर्णय भएकाले यसअघि अवैध रूपमा पाटन छिर्ने जो कोहीलाई सेनाको सुरक्षा गस्तीले पक्राउ गर्ने निकुञ्जले बताएको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने भोक्पा, भांका, सागबारी, कुनासालगायत क्षेत्रमा सेनाले गस्ती गरिरहेको छ । निकुञ्जका अनुसार जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पर्ने यार्सापाटनमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लाको ठूलीभेरी नगरपालिकाअन्तर्गत माझफाल, थरगाउँ, दुरगाउँ र तालीमा पर्ने विभिन्न यार्सापाटनमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
यार्सागुम्बाको औपचारिक रूपमा संकलन गर्ने समयअगावै चोरी निकासी नहोस् भनेर मेली सामुदायिक वनअन्तर्गत रूपपानी, माझडाँडा, फुर्के, ज्ञाने, माजगाडीलगायत दर्जनौं पाटनमा स्थानीय युवा र सशस्त्र प्रहरीले सामूहिक गस्ती गरिरहेको छ । जिल्ला प्रवेश गर्ने यार्सापाटनका नाकामा समेत विशेष कडाइ गरिएको समितिले बताएको छ ।
विगतका वर्षमा पाटन खुल्नुअगावै तस्करले समूह बनाएर यार्सागुम्बाको अवैध चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न वैशाख २८ गतेदेखि नै गस्ती शुरू गरिएको स्थानीय युवा सुशील बुढाले बताए । अघिल्ला वर्षमा स्थानीय गस्ती टोली र यार्सा तस्करबीच गोली हानाहानसम्म हुने र स्थानीय त्रसित हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।
मेली सामुदायिक वनक्षेत्रमा लेकको बाटोबाट प्रवेश गर्ने अधिकांश रुकुमेली सर्वसाधारण हुने गर्दछन् । यस वनक्षेत्रमा करीब २०० देखि ३०० किलोसम्म यार्सागुम्बा पाइने अनुमान गरिएको छ । यार्सागुम्बा संकलनका लागि बीसौं हजार सर्वसाधारण डोल्पाका यार्सापाटन पुग्ने गर्दछन् । डोल्पाली मात्रै नभई छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला, मुगुलगायतका बासिन्दाका लागि समेत आयआर्जनको मुख्य स्रोत यार्सागुम्बा हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।