नयाँ शहर आयोजनाको काम सुस्त गतिमा

Share News

प्रवीर ददेल 

जेठ ६, रुकुम । मुलुकको १० नयाँ शहरको सूचीमा परेको रुकुमको चौरजहारी नयाँ शहर आयोजनाको काम सुस्त गतिमा रहेको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत नमूना शहरको सूचीमा परेको रुकुम पश्चिमको चौरजहारीमा विकास निर्माणले गति लिन नसकेको स्थानीयले गुनासो गरेका छन्  ।

नयाँ शहर आयोजना अन्तर्गत व्यवस्थित् वसपार्क, गुणस्तरीय सडक, विद्युत, चौरजहारी उपत्यका भित्र  रिङरोड निर्माण, टावन प्लानिङ जस्ता आधारभुत कामसमेत अगाडि वढन नसकेको स्थानीय तिलक भण्डारीले जानकारी दिए । उनले भने,‘नयाँ शहर आयोजनाको काम कछुवा गतिमा छ ।’ नेपाल सरकारले आर्थिक वर्ष २०६८/६९ मा चौरजहारीलाई नमूना शहर निर्माण गर्ने भनी घोषणा गरेको थियो ।

नयाँ नमूना शहर घोषणा भएको झण्डै ७ वर्ष वित्दासम्म विकास निर्माणले  भने गति लिन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् । नयाँ शहर अन्तर्गत केही नयाँ सडक निर्माणको काम भएपनि र व्यवस्थित् बसपार्क, बजार आसपासका सडक निर्माण तथा कालोपत्र हुन सकेको  छैनन् ।

विशेषगरी विकासमा स्थानीयको साथ र सहयोग नहुँदा केही समस्या भएको चौरजहारी नयाँ शहर आयोजनाका प्रमुख जगदिश लामिछानेले बताए । उनका अनुसार विकास निर्माण गर्दा जग्गा आवश्यक पर्ने र जग्गाधनीले सहज रुपमा जग्गा उपलव्ध नगराउँदा काममा ढिलाई भएको हो । तर अन्य नयाँ शहर आयोजना भन्दा चौरजहारी नयाँ शहरले विकासमा गति लिएको प्रमुख लामिछानेको भनाई छ  ।

उनले भने, ‘नयाँ शहर आयोजना क्षेत्राधिकार भित्रका काम अगाडी वढाएका छौं, केही काम निर्माण भइरहेका छन्, केही विस्तृत योजना प्रतिवेदन(डिपिआर) तयार भइरहेको छ ।’ उक्त  कार्यालयका अनुसार चौरजहारी रिंङरोड निर्माणधिन अवस्थामा रहेको छ । यसका साथ चौरजहारी  चिप्लेटीदेखि गुर्तालगाउँ, न्याउली बजार सम्मको सडकको  डिपिआर तयार हुँदैछ ।  चौरजहारी नयाँ शहर आयोजना अन्तर्गत १३ किलोमिटर निर्माण सकिएको र कालोपत्रको कामसमेत शुरु हुन थालेको छ । मुख्य सडकका साथै बजारक्षेत्रमा १६५ ओटा सौर्यबत्ति जडान  गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।