अर्जुन कार्की जेठ ६, बागलुङ । अन्तरपालिका सडक सञ्जाल विस्तार अन्तर्गत काठेखोला गाउँपालिकाभित्र क्षेत्रीय चक्रपथ स्तरोन्नतिको काम तीव्र रुपमा अगाडी बढेको छ । निर्वाचन क्षेत्र पूर्वाधार साझेदारी विकास कोष अन्तर्गत काठेखोला गाउँपालिकाले यस वर्ष क्षेत्रीय चक्रपथमा पर्ने दुई ओटा सडकको स्तरोन्नतिको काम भइरहेको छ ।
भीमापोखराको कचुल्डाँडादेखि वडा नम्बर ३ स्थित् माझकटेरासम्मको पाँच किलोमिटर सडक र बागलुङ नगरपालिका वडा नम्बर ८ सिगाना र काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशको सिमाना जमिनडाँडादेखि लेखानी हुँदै, विहुँसम्मको सडक स्तरोन्नतिको काम भइरहेकोे छ । दुवै तर्फको सडक निर्माणका लागि संघीय संसदबाट रू. ५०/५० लाख र काठेखोला गाउँपालिकाबाट रू. २१/२१ लाख बजेट विनीयोजन गरि स्तरोन्नति गर्न लागिएको उक्त सडकको ७० प्रतिशत काम सम्पनन भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिए ।
उनले वडा नम्बर ७ रेशको जमिनडाँडादेखि र वडा नम्बर ८ लेखानीको सिमानसम्मको बाटोको कटिङको काम सम्पन्न भएको र लेखानी र वडा नम्बर ५ विहुँमा पनि ग्याविनको काम तिब्र गतिमा अगाडी बढेको जानकारी दिए । उनले गाउँपालिकाको वडा नम्बर २ भीमापोखराको चिप्लेभिरदेखि वडा नम्बर ३ धम्जाको माझकटेरासम्मको सडकको स्तरोन्नतिको काम पनि ७० प्रतिशत सम्पन्न भएको पनि बताए । सडकलाई चौडा गर्ने काम पनि अन्तिम चरणमा पुगेको छ । वैशाख मसान्तभित्र सम्पन्न गर्ने भनी उपभोक्ता समिति गठन गरिएको भएपनि निर्माण सम्पन्न गर्न भने जेठ मसान्त लाग्ने उनले बताए ।
उक्त क्षेत्रीय चक्रपथ काठेखोला गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५, ७, ८ हुँदै बागलुङ नगरपालिकाको बलेवा क्षेत्रबाट मालढुंगा जोडिने छ ।चक्रपथले काठेखोला गाउँपालिकाको वडा नम्बर १ र ५ लाई समावेश नगरेपनि उक्त स्थानका नागरिकहरुले लाभ लिन सक्ने गाउँपालिकाले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।