हस्तकला व्यापार मेला आजदेखि

Share News

एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी बुधवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू हुँदै छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रवीन्द्रकुमार शाक्यले मेलाको उद्घाटन गर्ने आयोजक नेपाल हस्तकला महासङ्घले जानकारी दिएको छ ।

 

हेमरत्न शाक्य
अध्यक्ष, नेपाल हस्तकला महासङ्घ

शीप, कला र संस्कृतिको उत्थानका लागि मेला

यो सङ्घ पहिले हस्तकला उद्योग सङ्घका रूपमा स्थापना गरिएको थियो । २०६५ सालदेखि यसलाई महासङ्घमा परिणत गरिएको हो । हस्तकला महासङ्घले नेपाली कलाकार तथा तिनको शीप, कला तथा परम्परागत संस्कृतिको उत्थान गर्ने उद्देश्यले समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको छ । महासङ्घले २०४८ सालदेखि नै हस्तकला मेलाको आयोजना गर्दै आएको छ । पहिले २ वर्षमा एकपटक मात्र यो मेलाको आयोजना गरिन्थ्यो । तर, यसको महत्वलाई ध्यानमा राखी अहिले यो मेला हरेक वर्ष आयोजना गरिँदै आएको छ । हस्तकलामार्फत देशको कला, संस्कृति तथा सम्पदालाई आमजनता र अन्तरराष्ट्रिय स्तरमा पहिचान दिलाउने मेलाको मुख्य उद्देश्य छ । हस्तकलामार्फत स्वदेशमा रोजगारीको सृजना गर्दै गरीबी निवारणमा टेवा पुर्‍याउनेसमेत महासङ्घको लक्ष्य छ । यही उद्देश्यका साथ यस वर्ष पनि हस्तकला व्यापार मेला आयोजना हुँदै छ । यो ११औं हस्तकला व्यापार मेला हो ।

 

धर्मराज शाक्य
उपाध्यक्ष, नेपाल हस्तकला महासङ्घ
संयोजक, हस्तकला व्यापार मेला

नेपाललाई हस्तकला हब बनाउने तयारी

नेपाललाई सार्कस्तरीय व्यापारिक केन्द्र वा हस्तकला हबका रूपमा विकास गर्न हामी पहल गर्दै छौं । साथै, नेपाली हस्तकलाको आन्तरिक बजार विकास तथा हस्तकला सामग्री निर्यातमा समेत जोड दिई यस क्षेत्रको विकास गर्न महासङ्घ लागिपरेको छ । परम्परागत हस्तकलामा नवप्रवर्तन, नौला सामग्री, नयाँ डिजाइन आदिका लागि कलाकारलाई प्रोत्साहन गर्नु मेलाको प्रमुख उद्देश्य हो । कलाकार तथा तिनको शीप र कलालाई पहिचान दिलाउन मेलाको उल्लेख्य भूमिका रहनेछ । त्यसैगरी परम्परागत कार्यशैली नयाँ प्रविधिको प्रयोगले थप सहज बनाउनसमेत मेला सफल हुने हाम्रो अपेक्षा छ ।

मेलामार्फत कलाकारको सम्मान तथा तिनलाई पुरस्कृत गर्ने हाम्रो सोच छ । मेलालाई थप आकर्षक बनाउन सजावटलगायत विषयमा हामीले विशेष पहल गरेका छौं । यसअन्तर्गत हामीले मेलामा विशेष आकर्षणका रूपमा थ्रीडी मण्डला प्रदर्शनका लागि राख्दै छौं ।

 

विकासरत्न धाख्वा,
निवर्तमान अध्यक्ष, नेपाल हस्तकला महासङ्घ

कार्यक्रमले निरन्तरता पाओस्

हाल नेपाल सरकारले ट्रेड इण्टिग्रेटेड स्ट्राटेजी (एनटीआईएस) नीतिसमेत अपनाएको छ । यस कारण निश्चित समयमा यस्ता कार्यक्रम वा मेलाको आयोजना गर्न थप सजिलो भएको छ । यो निकै सकारात्मक पक्ष हो । निर्धारित समयमा कार्यक्रम आयोजना हुँदा यस व्यवसायमा लागेका व्यापारी तथा सङ्घसंस्थामाझ आफ्ना नयाँ उत्पादन सार्वजनिक गर्न मेला प्लेटफर्मको रूपमा रहेको छ । यसले उत्पादकलाई आफ्नो मेहनत र उत्पादनमार्फत राम्रो प्रतिफल लिनसमेत सहयोग पुर्‍याउँदै आएको छ । साथै, मेलाका कारण आफ्ना ग्राहकमाझ प्रत्यक्ष रूपमा जान पाउँदा यसले बजार विस्तारमा राम्रो सहयोग पुर्‍याउँदै आएको हाम्रो अनुभव छ ।

 

सनम शाक्य
कार्यसमिति सदस्य, नेपाल हस्तकला महासङ्घ

मेलामा सबैको जिज्ञासा सम्बोधन हुन्छ

आमनेपाली जनतामा हस्तकलाका सामग्री महँगा हुन्छन् भन्ने धारणा छ । पर्याप्त जानकारी अभावमा यस्तो अवस्था आएको हो । यस्ता व्यापारिक मेलामा उत्पादक र अवलोकनकर्ताबीच साक्षात्कार हुने अवसर मिल्ने हुँदा धेरै जिज्ञासाको सजिलै समाधान हुन्छ । यसपटक मेलामा विभिन्न कलात्मक मूर्ति तथा चाँदीका सामान प्रदर्शनका लागि राख्दै छौं । आफ्नो कला तथा उत्पादनको प्रवर्द्धन तथा पहिचान दिलाउन मेला निकै सहयोगी सावित हुँदै आएको छ ।

 

सुरजमान वज्राचार्य
उपाध्यक्ष, हस्तकला महासङ्घ
संयोजक, प्रतियोगितात्मक हस्तकला प्रदर्शनी

४२ विधाका हस्तकला सामग्री प्रदर्शनमा छन्

यसपटक धातु मूर्तिकलाका विभिन्न चरणमध्ये ‘कट्टाँ ज्या’ (कार्भिङ कार्य सम्बद्ध कलाकारलाई प्रतियोगितामा सहभागी गराएको छौं । कला तथा कलाकारको उत्थान गर्ने उद्देश्यले यस क्षेत्रमा कार्यरत १८ कलाकार सम्मिलित गराई तिनमा प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा विजयी कलाकारलाई पुरस्कार प्रदान गरिनेछ । यस क्षेत्रमा लामो समयदेखि योगदान दिएका सिद्धहस्त कलाकार स्व. मोतीकाजी शाक्यको तस्वीरअङ्कित हुलाक टिकट प्रकाशन भएको छ । यसलाई विशेष प्रोत्साहन दिँदै कलाकारलाई सम्मान प्रदान गर्न संस्मरणात्मक टिकटसहितको आवरणमा टाँचा लगाउने कार्यसमेत गरिनेछ । मेलामा ४२ विधाका हस्तकला सामग्री प्रदर्शन गरिनेछ ।

 

दिलीप खनाल
महानिर्देशक, नेपाल हस्तकला महासङ्घ

मोफसलका कलाकारलाई निःशुल्क पेभेलियन

समग्र देशको हस्तकला तथा कलाकारको उत्थानका लागि हामी निरन्तर प्रयासरत छौं । देशका विभिन्न भागमा रहेका कला तथा कलाकारलाई परिचित गराउने लक्ष्य महासङ्घको छ । साथै, स्थानीय कलामा मात्र सीमित नरही साना उद्योगीलाई प्रोत्साहन गर्न हामीले जिल्ला सङ्घसमेत स्थापना गरेका छौं । ती सङ्घले पनि मेलामा सहभागी हुने अवसर पाउँछन् । तिनलाई निःशुल्क पेभिलियन उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।

 

ज्ञानभक्त लामा
कार्यसमिति सदस्य, नेपाल हस्तकला महासङ्घ


लोपोन्मुख कलाको उत्थान

म मकवानपुर हस्तकला सङ्घको अध्यक्ष पनि हुँ । बाहिरी जिल्लाका उत्पादनको सङ्ख्या सीमित हुने गर्छ । साथै, ती स्थानमा उत्पादनमा लाग्ने मेहनत र खर्च बढी हुने गर्छ । त्यस्तै, तिनको व्यावसायिक आम्दानीसमेत कम हुन्छ । कार्यक्रममा सहभागी हुन तथा स्टलका लागि भाडा तिर्न त्यहाँका उत्पादक असमर्थ छन् । यसलाई ध्यानमा राखी उनीहरूको उत्पादन प्रवर्द्धन गराउन महासङ्घले निःशुल्क स्टल उपलब्ध गराउने गरेको छ । जिल्लाका व्यवसायीका लागि आउन–जाने भाडासमेत आफैले बेहोरेका छौं । यसपटक प्रदर्शनका लागि जिल्लाबाट बाँसका सामग्री लिएर आएका छौं । परम्परागत ठेकी लोपोन्मुख अवस्थामा पुगिसकेकाले यसको प्रवर्द्धनका लागि कलात्मक तरीकाले प्रदर्शन गरिनेछ ।

 

प्रचण्ड शाक्य
कार्यसमिति सदस्य, नेपाल हस्तकला महासङ्घ


उत्कृष्ट पेभेलियनलाई पुरस्कार

मेलामा आउने दर्शक आकर्षित गर्न आयोजकले हस्तकला मेलाको सजावटमा विशेष ध्यान दिएको छ । प्रवेशद्वार तथा बाटोमा नेपाली झण्डासहितको सजावट गरिनेछ । त्यस्तै, प्रमुख प्रवेशद्वारमा प्राकृतिक फाइबरका कपडाको प्रयोग गरिएको आकर्षक सजावट दर्शकले देख्न पाउनेछन् । द्वार निर्माणमा फाइबर कपडाको प्रयोग सम्भवतः यो नै पहिलो हो । त्यसैगरी मेलाको प्रमुख आकर्षणका रूपमा मुख्य हलमा थ्रीडी मण्डला प्रदर्शनीका लागि राखिनेछ । यसमा धातुपत्रको ६ फीट अग्लो बुद्धको मूर्ति रहनेछ । उत्कृष्ट हुने कलाकारद्वारा निर्मित मूर्तिहरू पनि सजावटका रूपमा प्रदर्शनीमा राखिनेछ । उत्कृष्ट सजावट गर्ने पेभेलियनलाई पुरस्कृत गर्ने हामीले व्यवस्था मिलाएका छौं ।

 

रवीन्द्र शाक्य
कार्यसमिति सदस्य
नेपाल हस्तकला महासङ्घ


नेपाली कलाको अन्तरराष्ट्रिय प्रवर्द्धन

यस मेलामा भाग लिनुको पहिलो उद्देश्य आफ्नो उत्पादनको प्रवद्र्धन गर्नु हो । मेलाले स्वदेशी तथा अन्तरराष्ट्रिय बजारमा हस्तकलासम्बद्ध उत्पादनको मागबारे जानकारी लिन सहयोग पुर्‍याउनेछ । यस्ता मेलाले नेपाली कलाकार तथा तिनको शीप र कलालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण योगदान दिन्छ । यस कारण सरकारी स्तरबाट समेत यस्ता कार्यक्रम तथा सङ्घसंस्थालाई सक्दो सहयोग गर्नुपर्ने देखिन्छ । यसो भएमा अन्तरराष्ट्रिय स्तरमा नेपाली हस्तकलालाई पुर्‍याउन थप सहजता मिल्ने निश्चित छ ।

 

प्रदीप वज्राचार्य
कार्यसमिति सदस्य
नेपाल हस्तकला महासङ्घ


व्यवसायमा वृद्धि भएको छ

कला, कलाकार तथा तिनको पहिचानका लागि प्रवर्द्धनको पहल गर्नु हाम्रो मुख्य दायित्व हो । विगतमा नेपालमा बनेका धातुका मूर्तिको गुणस्तर तथा मूल्यबारे जानकारी नहुँदा त्यसको कारोबार निकै कम हुने गथ्र्यो । तर, अहिले त्यो अवस्था परिवर्तन भएको छ । आममानिस यसमा विशेष रुचि राख्न थालेकाले हस्तकलाका सम्बन्धमा ज्ञान बढेको छ । यसै कारण हस्तकलाका सामग्रीको माग देशमा समेत बढ्न थालेको छ । भूटान, तिब्बत, ताइवान, जर्मनीलगायत देशमा बौद्ध धर्मको विशेष प्रभाव छ । यस कारण यी देशमा मूर्ति तथा अन्य सामग्रीको माग बढी रहेको छ । त्यसको थप प्रवर्द्धनमा मेला सहयोगी हुनेछ ।

 

मोहनकृष्ण मानन्धर
सचिव, हाते कागज सङ्घ


स्वदेशी कच्चापदार्थको अधिकतम प्रयोग

हामी नेपाः भोँ नामबाट नेपाली कागजका सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आइरहेका छौं । हाम्रा उत्पादन अहिले विदेशमा मात्र निर्यात हुने गरेका छन् । यस उद्योगमा ९८ प्रतिशतभन्दा बढी स्वदेशी कच्चापदार्थ प्रयोग हुन्छ । हातेकागज व्यवसायमा झण्डै ५० हजार मानिस रोजगार छन् । यसमा काम गर्ने कालिगढमध्ये करीब ८० प्रतिशत महिला छन् । अहिले आवश्यक कच्चापदार्थको मूल्य बढेकाले निर्मित सामग्रीको मूल्य बढ्दै गएको छ । यसले अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न निकै कठिन हुन थालेको छ । पहिले वार्षिक करीब रू. ८० देखि ९० करोडको सामग्री निर्यात हुने यस व्यवसाय अहिले रू. ३० देखि ४० करोडमा सीमित भएको छ । यसैले, सरकारी स्तरबाट यो कला जोगाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।

 

रत्नेश्वरी श्रेष्ठ
रत्न सिल्भर क्राफ्ट


रोजगारी सृजनामा प्रत्यक्ष योगदान

हस्तकलाले देशको कला, परम्परा र संस्कृतिसँग समेत प्रत्यक्ष सम्बन्ध राख्छ । यसले देश–विदेशमा पहिचान दिलाउन सहयोगी भूमिका निर्वाह गर्दै आएको छ । यसैले पनि हस्तकला मेलाको छुट्टै महत्व छ । यस क्षेत्रले रोजगारी सृजना गरी देशमा रहेको बेरोजगारी समस्याको समाधानमा समेत प्रत्यक्ष योगदान पुर्‍याउँदै आएको छ । यी सामग्री विदेशमा निर्यात गरिने प्रमुख वस्तुमध्ये पनि पर्छन् । त्यसैले, वैदेशिक मुद्रा आजर्न गर्ने स्रोतका रूपमा समेत यो क्षेत्र रहेको छ । यसपटक मेलालाई थप व्यवस्थित गर्न कार्यकारी समितिका सबै सदस्यले कार्य विभाजनमा योगदान दिनैपर्ने नियमसमेत बनाइएको छ ।

 

होमनाथ उपाध्याय
अध्यक्ष, छाला जुत्ता तथा वस्तु उत्पादक सङ्घ नेपाल


ब्राण्डिङका लागि सहयोगी हुनेछ

नेपालमा उत्पादित छाला जुत्ता पनि हस्तनिर्मित कला हो भन्ने बुझाउनु हाम्रो उद्देश्य हो । यो पनि एक किसिमको कला हो र यसका कालिगढ कलाकार हुन् भनी पहिचान स्थापित गराउन हामी हस्तकला महासङ्घका हरेक प्रदर्शनीमा भाग लिँदै आएका छौं । यसपटक हाम्रो क्षेत्रबाट ५ कम्पनीका १० स्टल रहनेछन् । तिनमा छालाका जुत्ता, चप्पल, पर्स, ज्याकेट, बेल्टलगायत सामग्री प्रदर्शनीका लागि राखिनेछ । नेपाली उत्पादनको ब्राण्डिङ हुनुका साथै अन्तरराष्ट्रिय बजारमा समेत यो मेलाले राम्रो पहिचान दिलाउन सहयोगी भूमिका निर्वाह गरिरहेको छ ।

 

राजन कर्माचार्य
उपाध्यक्ष, नेपाल फेल्ट उद्योग सङ्घ


उपभोक्ता सचेत छन्

फेल्ट ऊनी वस्तुअन्तर्गत पर्दछ । यसका लागि आवश्यक फेल्ट (ऊन) न्यूजिल्याण्डबाट आयात गरिन्छ । यस क्षेत्रमा धेरै व्यक्ति प्रत्यक्ष रोजगार छन् । पछिल्लो वर्षमा हस्तकला क्षेत्रमा फेल्टका उत्पादन प्रमुख निर्यात गरिने वस्तुमध्ये तेस्रो हुन सफल भएको थियो । यसको आन्तरिक बजारसमेत राम्रो हुन थालेको छ । पहिले फेल्ट विदेशमा मात्र निर्यात गरिने वस्तु भएको आममानिसमा धारणा थियो । तर, मेला तथा अन्य कारणले नेपाली उपभोक्तामा समेत यसबारे जनचेतना बढेको छ । यस कारण क्रिसमसलगायत चाडमा यसको विक्री बढ्न थालेको छ ।

 

 



चन्द्रश्याम डङ्गोल
मूर्तिकार, खोकना स्टोन कार्भिङ


प्रस्तर कलाको प्रवर्द्धन

प्रस्तर कला नेपालको ऐतिहासिक कलाका रूपमा पहिचान बनाउन सफल छ । यो कलाले अन्तरराष्ट्रिय स्तरमा समेत नेपाललाई विशेष परिचय दिन सघाएको छ । मेलामा प्रस्तरकलासम्बन्धी कलाकृति प्रदर्शन गरी यसको प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य छ । स्वदेशी तथा विदेशी दर्शक उल्लेख्य मात्रामा यो मेलामा आउने गर्छन् । प्रस्तर कला तथा यस क्षेत्रमा आबद्ध कलाकारको शीप तथा कलाको पहिचान दिलाउने हाम्रो उद्देश्य हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।