बागलुङ बजारमा नो पार्किङ !

Share News

अर्जुन कार्की

जेठ ८, बागलुङ । बागलुङ बजारमा बढ्दो ट्राफिक अवरोधलाई व्यवस्थापन गर्न शुरु गरिएको छ । बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, उद्योग बाणिज्य संघ बागलुङ र नगरपालिकाको पूर्वाधार विकास समितिको संयुक्त पहलमा बुधवारदेखि बजारमा दुई पांग्रे सवारीको ट्राफिक व्यवस्थापन शुरु गरिएको पूर्वाधार विकास उपसमितिका संयोजक अर्जुन घिमिरेले जानकारी दिए ।

दुई पांग्रे सवारी साधनहरु सडकको दुवै तर्फ जथाभावि पार्किङ्ग गर्द सडक जाम बढ्दै गएकाले व्यवस्थापनको लागि सडकमा नो पार्किङ्गको बोर्ड राखिएको छ । हप्तामा आइतवार, सोमवार, मंगलवार एक साईड र बुधवार, बिहीवार र शुक्रवार अर्को साईडमा पार्किङ्ग निषेध गरिएको छ । शनिवार सरकारी कार्यालय र धेरै पसलहरु बन्द हुने र जाम पनि कम हुने भएकाले नो पार्किङ्ग नहुने उपसमिति संयोजक घिमिरेको भनाई छ ।

बजारलाई सुन्दर बनाउने र पैदल यात्रीहरुलाई यात्रामा सहज हुने हेतुले ठूला सवारीहरु, स्कुल बसको पार्किङको लागि एक हप्ता भित्र निर्णय गरि कार्यान्वयन गरिने बागलुङ नगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक ध्रुर्बबहादुर केसीले जानकारी दिए । अहिले बजारमा गाउँबाट आउने पिकअप जिप, बजारमा लामो तथा छोटो दुरीमा छुट्ने सवारीको पार्किङ्गको लागि खाली स्थानको खोजी भइरहेको र चाँडै व्यवस्थापन गर्ने योजना छ ।

बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का लगायतले सडकमा नो पार्किङ्गको बोर्ड राखेर अभियानको शुरुवात गरिएको थियो । सुन्दर नगर बनाउनको लागि पहिलो चरणमा ट्राफिक व्यवस्थापनको काम शुरु गरिएको नगरप्रमुख पौडेलले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।