स्थायी ठेगाना खुल्ने प्रमाणपत्र नभए यार्सापाटनमा प्रवेश नदिइने

Share News

सुकमाया थापा

जेठ ११, डोल्पा । यार्सागुम्वा संकलनका गर्ने मिति नजिकिदै गर्दा शुक्रवारबाट प्रवेश शुल्क दिन थालिएको छ । जेठ १३ गते देखि यार्सापाटन खुल्ला हुने भएपछि शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जले शुल्क लिएर प्रवेश अनुमती दिएको हो ।

स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्वा संकलन गर्न पाटन तीर प्रवेश दिइएको छ । शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि रू.५००, मध्यवर्ती क्षेत्र बाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि रू. २ हजार र जिल्ला बाहिरका लागि रू. ३ हजार दस्तुर तोकेको छ । त्यस बाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै रू. ५०० लिन पाउने व्यवस्था गरेको छ ।

निकुञ्जले छोडपुर्जी दस्तुरबापत रू. ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्म एक महीनाको हुने निकुञ्जले बताएको छ ।  निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटनहरू खुलाउने निर्णय गरेको छ । शे फोक्शुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकृत छत्र खड्काले निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ ओटा स्थानबाट संकलन पुर्जी वितरण भइरहेको बताए ।

यार्सा संकलनको लागि छिमेकी जिल्ला रुकुम, जाजरकोट, जुम्ला लगायतका जिल्लाबाट सर्वसाधारणहरु आइपुगेका छन् । दैनिक आवश्यकता पुरा गर्नका लागि आफू यार्सागुम्वा संकलन गर्न आएको रुकुम आठविसकोट नगरपालिका ११ कि हिरा शाहीले बताइन् । निकुञ्जले चोरी निकासी गर्नेप्रति यो वर्ष कडाइ गरेको छ । शनिवार दिउँसो सम्म १ हजार ८०० ले अनुमती पुर्जी लिएका थिए । सोबाट रू. ५१ लाख उठेको सुचना अधिकारी खड्काले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।