प्रभावितहरू त्रासमा बाँच्न बाध्य : खाँडो नदी नियन्त्रणको काम भएन प्रभावकारी

Share News
राजविराज (अस) । खाँडो नदीको बाढीले वर्सेनि जनधनको क्षति खेप्दै आएका सप्तरीका दक्षिणी भेगका आधा दर्जनभन्दा बढी बस्तीका वासिन्दाहरूमा वर्षा शुरू हुनुअघिदेखि नै त्रास बढेको छ । तीन वर्षअघि शुरू गरिएको खाँडो नदी नियन्त्रण कार्य प्रभावकारी रूपमा अघि नबढ्दा उनीहरूमा त्रास बढेको हो । नदीमा तटबन्ध निर्माण नहुँदा सकरपुरा, रम्पुरा मल्हनियाँ, तिलाठी, तोपा, लौनियाँ लगायतका बस्ती बाढीको उच्च जोखिममा छन् । उक्त नदीको बाढीले जनधनको क्षति जोगाउन तत्कालीन सिँचाइमन्त्री उमेशकुमार यादवको विशेष पहलमा ‘खाँडो नदी नियन्त्रण आयोजना’ स्थापना गरी आर्थिक वर्ष २०७२÷७३ मा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको थियो । तर, तीन आर्थिक वर्ष बितिसक्न लाग्दा पनि आयोजनाले नदी नियन्त्रणको काम भने प्रभावकारी रूपमा गर्न सकेको छैन । उक्त नदी नियन्त्रणको काममा अहिलेसम्म ४९ करोड रुपैयाँ रकम खर्च भए पनि काम भने २० प्रतिशत मात्रै भएको छ । खाँडो नदीबाट प्रभावित ४५ वर्षीय भोला खंगले आफूहरूले सधैँ बाढीको त्रासमा जीवन बिताउनु परेको बताए । उनले भने, ‘शासन, सत्ता अनेक परिवर्तन भए, हाम्रो अवस्था जस्तोको त्यस्तै छ ।’ राजविराज–१५ देउरी भरुवाका डोमी यादवका अनुसार तटबन्ध निर्माण भएको ठाउँमा पनि गुणस्तरहीन काम भएको छ । उनले भने, ‘कमिशनतन्त्र, उपभोक्ता तथा ठेकेदारको लापरवाही तथा कोटेशनमा काम बाँड्ने गलत परिपाटीले नदी नियन्त्रण कार्य प्रभावकारी हुन नसकेको हो ।’ उनका अनुसार दुई वर्षअघि नै दर्जनौं स्थानमा कटान भएको देखिएको छ र ती ठाउँ फेरि भत्किने अवस्थामा छन् । उक्त नदीको दुवैतिर तटबन्ध निर्माण गर्न आव २०७२/७३ मा ४ करोड, २०७३/७४ मा १६ करोड ५० लाख र २०७४/७५ मा २२ करोड ५० लाख रुपैयाँ खर्च भएको थियो । चालू आर्थिक वर्षको हालसम्ममा ६ करोड रुपैयाँभन्दा बढी रुपैयाँ खर्च भएको खाँडो नदी नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए । डीपीआरअनुसार नदीको दुवैतिर २५/२५ किलोमिटर तटबन्धन गर्ने कार्य आव २०७८/७९ भित्र पूरा हुनुपर्छ । आयोजना प्रमुख यादवका अनुसार समयमै रकम निकासा नहुँदा र स्थानीयहरूको अवरोधका कारण निर्माणमा ढिलाइ भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।