प्रभावकारी बन्दै ‘व्यवस्थित वीरगञ्ज अभियान’

Share News
वीरगञ्ज । व्यवस्थित शहरका लागि सरकार र नागरिकबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जमा थालिएको ‘व्यवस्थित वीरगञ्ज अभियान’ प्रभावकारी बनेको छ । वीरगञ्जका सार्वजनिक स्थलको सरसफाइ, बाटोघाटो र ट्राफिक व्यवस्थापनलगायत चुस्त बनाउन अभियान थालिएको हो । १० महीनादेखि जारी यो अभियानमा अहिले वीरगञ्ज महानगर, स्थानीय प्रहरी प्रशासन र स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको छ । सधैंजसो फोहोरको डंगुर देखिने स्थानहरूमा अहिले बिहानबिहानै महानगरका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखसँगै स्थानीय बासिन्दा हातमा झाडु लिएर खटिएका देखिन्छन् । व्यवस्थित वीरगञ्ज अभियानमा सरोकार पक्षको उत्साहजनक सहभागिता देखिएको अभियानका संयोजक दिलीप कार्कीले बताए । अभियानमा अहिले विभिन्न सामाजिक संघसंस्था पनि जोडिएका छन् । वीरगञ्जमा सरसफाइको अवस्था अत्यन्तै दयनीय रहेकोले नागरिकस्तरमा चेतना अभिवृद्धि गर्न यो अभियान थालिएको संयोजक कार्कीको भनाइ छ । ‘सुरूमा सीमित क्षेत्रबाट थालिएको अभियानमा अहिले सबैजसो पक्षको सहभागिता भइरहेको छ,’ उनले भने, ‘यसले आफ्नो शहरको सरसफाइ र प्रभावकारी व्यवस्थानमा नगरवासीको भूमिका अभिवृद्धि गर्न सहयोग पुगेको छ ।’ गत भदौदेखि थालिएको अभियानअन्तर्गत वीरगञ्जको घण्टाघर उत्तरतर्फको खाली जग्गामा स्थानीय रुटका सवारीसाधनको पार्किङ र ठेलामा हुने फलफूल व्यापार व्यवस्थापन गरिएको छ । साँघुरो सडकमा सवारीसाधनको पार्किङ र फलफूल व्यवसायीका ठेलाले आवागमनमा अप्ठ्यारोमात्र भएको थिएन, दुर्घटनाको जोखिमसमेत बढाएको थियो । अभियानले सार्वजनिक स्थलमा सफाइ, सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरण जगेर्नामा काम गरिरहेको कार्कीले बताए । सडक तथा फुटपाथ घेरेर व्यवसाय चलाउने प्रवृत्तिलाई समेत निरुत्साहित गरिएको उनको भनाइ छ । अभियानअन्तर्गत ट्राफिक नियमको पालना, हर्न निषेध, छाडा चौपाया नियन्त्रणलगायका कामलाई पनि अघि बढाइएको छ । व्यवस्थित वीरगञ्जको आवश्यकतामा बारेमा जनचेतना जगाउने उद्देश्यले अभियानले शनिवार व्यवस्थित वीरगञ्जमा हाम्रो भूमिका विषयमा निबन्ध प्रतियोगितासमेत गराएको छ । वीरगञ्जका ४९ विद्यालयका ९३ जना विद्यार्थीले प्रतियोगितामा भाग लिएका थिए । उत्कृष्ट ३ निबन्धलाई यही जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा पुरस्कृत गरिने भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।