सिन्धुली (अस) । पप्पु कन्स्ट्रक्शनले ठेक्का लिएर अलपत्र पारेको कमला नदीको पुल निर्माण पुप्पुको जेभी पार्टनर लुम्बिनी कन्स्ट्रक्शनले गर्ने भएको छ । लुम्बिनीले जिम्मा पाएसँगै उक्त पुलको निर्माण वैशाखदेखि नै शुरू भइसकेको छ । जिल्लाको दुधौली नगरपालिका–३ झँुगा र दुधौलीकै वडा २ हत्पते जोड्ने ५४६ मिटर लामो पक्की पुलको निर्माण ४ वर्षदेखि अलपत्र परेको थियो ।
जनप्रतिनिधिको अग्रसरता र दबाबपछि लुम्बिनीले कामको जिम्मा लिएको हो । पुलमा पिलर बनाउने काम ४ वर्षअघि नै सकिएको थियो । तर बाँकी काम हुन नसकेपछि ठेकेदार कम्पनी फेर्नुपरेको दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले बताए । विश्व बैंकको ३२ करोड आर्थिक सहयोगमा निर्माण शुरू भएको पुल आर्थिक वर्ष २०७२/७३ मै सम्पन्न गर्ने सम्झौता थियो ।
लामो समयदेखि पुल निर्माण अघि नबढेपछि दुधौली नगरपालिका प्रमुख राउतले छिटो सम्पन्न गर्न पटक पटक दबाब दिएका थिए । शुरुआतमा पप्पुले नै काम गर्ने आन्तरिक सहमति भएअनुसार उसलाई नै कामको जिम्मा दिइएको थियो । तर आधा पनि काम नगरी छाडेपछि काम गर्ने दायित्व आफूहरूको पनि भएकाले निर्माण अघि बढाइएको लुम्बिनी कन्स्ट्रक्शनका शंकर राउतले बताए ।
पप्पुले लिएका योजना सबैतिर अलपत्र परेको हुँदा नगरभित्रका अन्य योजना पनि लुम्बिनी कन्स्ट्रक्शनलाई २०७६ वैशाख ५ गतेदेखि नै काम गर्नेगरी जिम्मा दिइएको राउतले जानकारी दिए । उक्त पुलमा प्राविधिक सल्लाहअनुसार काम नलाग्ने भएका सबै संरचना हटाएर नयाँ बनाउने सहमति भएको उनले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।