गाउँगाउँमा वायरलेस इण्टरनेटको लहर

Share News

गोरखामा ‘धावा वाईफाई’ जोनको अवधारणा

मानिसहरू भन्लान्, इण्टरनेट शहरिया उच्च वर्गका लागि मात्र हो । अझ नेपालमा त इण्टरनेट भन्नासाथ प्रविधिसँग नजिक रहेकाले मात्र प्रयोग गर्ने भन्ने बुझाइ छ । तर, बुझाइ जेजस्तो भए पनि इण्टरनेटको विकासको भने सीमा हुँदैन । यसकै उदाहरण बनेका छन्, अहिले नेपालका धेरै गाउँहरू । खानेपानी र सडकजस्ता विकासका पूर्वाधार नपुगेर के भयो र ? वायरलेस इण्टरनेटले त्यस्ता गाउँलाई अहिले विश्वभरका सबै ताजा गतिविधिसँग प्रत्यक्ष रूपमा जोडेको छ । यस अर्थमा नेपालका ग्रामीण क्षेत्रमा पनि अहिले वायरलेस इण्टरनेटको लहर शुरू भएको छ ।

त्यस्तै लहरको उत्कृष्ट नमूना हो– गोरखाको धावा गाविस । गाविसमा रहेको प्रभात माध्यमिक विद्यालयका पुराना कक्षाकोठामा अहिले २० ओटा कम्प्युटरमा इण्टरनेट जडान गरिएको छ । विद्यालयबाट ८ सय मिटर परसम्म पनि त्यो सुविधाको भरपूर उपयोग गर्न सकिन्छ । इण्टरनेटकै उपयोग गरेर यहाँ अहिले ई–लाइब्रेरीसमेत सञ्चालन गरिएको छ । अझ रमाइलो पक्ष त विद्यालय परिसरमै ५ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । गाउँका मानिस इण्टरनेट, कम्प्युटर आदिको बारेमा जान्न इच्छुक भएमा त्यो सुविधा पनि उपलब्ध गराइएको छ । विद्यालयका प्राचार्य गिरिराज लामिछाने विगत ४ वर्षदेखि गाउँमा कम्प्युटर शिक्षा तथा इण्टरनेट सुविधा प्रदान गर्दै आएको बताउँछन् । उनका अनुसार अहिले ईमेल तथा कम्प्युटर प्रयोगबारे जान्नकै लागि धावाका बासिन्दालाई शहर जानुपर्ने बाध्यता छैन ।

कम्प्युटर सञ्चालन गर्न अहिले विद्यालय आफैले सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरेको छ । ‘यसैमार्फत हामीले वाईफाई इण्टरनेट सेवा सञ्चालन गरेका छौं,’ प्राचार्य लामिछानेले भने । त्यस्तै, प्रभात लङरेञ्ज नाम दिएर विद्यालयबाट ८ सय मिटर परसम्म वाईफाई इण्टरनेट तथा प्रभात वायरलेस नामबाट १ सय मिटर परसम्म वायरलेस इण्टरनेट सेवा सञ्चालन गरिएको उनले बताए । विद्यालयले छिट्टै २ किलोमिटरसम्म वायरलेस सेवा सञ्चालन गर्न सकिने गरी सेवा विस्तार गर्ने योजना पनि बनाएको छ । त्यसका लागि आवश्यक सबै उपकरण ल्याइसकिएको छ । प्राचार्य लामिछानेका अनुसार १ महीनाभित्रै यो काम सम्पन्न गर्ने तयारी गरिएको छ । त्यसपछि धावा र यसआसपासका क्षेत्र समेटेर ‘धावा जोन’ नाममा विद्यालयमा निःशुल्क र अन्य ग्राहकलाई न्यूनतम शुल्कमा इण्टरनेट सेवा उपलब्ध गराउने उनले बताए । विद्यालयबाट उत्पादित सौर्य ऊर्जाले कम्प्युटर सञ्चालनसँगै अतिरिक्त खर्च घटाएको उनको भनाइ छ ।

४ वर्षअघि गाउँ भ्रमणमा आएका चेक रिपब्लिकका नागरिकको सहयोगमा यस क्षेत्रमा वायरलेस इण्टरनेट शुरू गरिएको थियो । सो समूहले ‘लर्निङ प्लानेट’ र ‘लाइट फर लर्निङ’ नामक दुई विदेशी संस्थालाई समेत यहाँ भित्र्याएको थियो । लर्निङ प्लानेटले ई–लाइब्रेरी र लाइट फर लर्निङले ५ किलोवाट विद्युत् उत्पादनमा सहयोग गरेको थियो । लर्निङ प्लानेटले ई–लाइब्रेरी सञ्चालनका लागि एकजना कर्मचारीको समेत व्यवस्था गरिदिएको छ । विद्यालयको पुरानो कोठामा कम्प्युटर राख्न अनुपयुक्त देखेर ती दुई संस्थाले भवन निर्माणका साथै फर्निचरको पनि व्यवस्था गरिदिएका थिए । यो परियोजनाका लागि अहिलेसम्म करीब २५ लाख खर्च भएको विद्यालयले जानकारी दिएको छ । कम्प्युटर शिक्षक भने विद्यालयले आफ्नै स्रोतमा व्यवस्था गरेको छ ।

धावा गाविसका सातओटै विद्यालयमा वायरलेस इण्टरनेट सञ्चालन गर्ने प्रभात माविको योजना छ । त्यसका लागि प्राविधिक तयारी भइरहेको छ । ‘६ ओटा विद्यालयलाई सजिलै जडान गर्न सकिने हाम्रो अनुमान छ,’ लामिछानेले भने, ‘एउटा विद्यालयमा केही समस्या भए पनि त्यो तत्काल समाधान हुनेछ ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।