जेठ १९, सर्लाही । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बक्स अफिस प्रणालीले पारदर्शी समाज र व्यावसायिक शुद्धता कायममा सहयोग पुग्ने बताएका छन् । सर्लाहीको लालबन्दी नगरपालिकास्थित वीणा चलचित्र मन्दिरमा शनिवार सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम (बक्स अफिस) शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘व्यावसायिक शुद्धता आएपछि राज्य आर्थिक रुपमा बलियो हुन्छ’, उनले भने, ‘बक्स अफिस प्रणालीले निर्माता र कलाकारलाई पनि सबल र सफल बनाउँछ ।’ टिकट काटेर कागजको खोस्टा रेकर्ड राखेर आर्थिक अनियमितता गर्ने प्रणालीको अब अन्त्य हुने मन्त्री बाँस्कोटाले बताए । बक्स अफिस प्रणालीबाट नागरिकले तिरेको कर नागरिकतिर नै फर्किने उनले उल्लेख गरे ।
मन्त्री बाँस्कोटाले नेपालमा प्रसारण गरिने विदेशी विज्ञापनमा विदेशी कलाकारको ठाउँमा नेपाली कलाकारले अभिनय गरेको विज्ञापन प्रसारण गर्नुपर्ने र हलहरु अनिवार्यरूपमा १८० दिन चलाउनुपर्ने कुरामा जोड दिए । काठमाडौं उपत्यकामा एक वर्ष अगाडिदेखि नै बक्स अफिस सिस्टम लागू भए पनि उपत्यका बाहिर मोफसलमा लागु हुन सकेको थिएन ।
राज्यलाई आर्थिकरूपमा बलियो बनाउन, निर्मातालाई सबल बनाउन र कलाकारलाई उचित पारिश्रमिक दिलाउनका लागि बक्स अफिस प्रणाली लागू गरिएको चलचित्र विकास बोर्डले बताएको छ ।
उपत्यकामा गत वर्षको साउन १ गतेदेखि नै बक्स अफिस प्रणाली लागू गरिएको छ । लालबन्दीमा गरिएको उद्घाटनसँगै प्रदेश नं २ का १० ओटा सिनेमा हलले बक्स अफिस प्रणालीबाट टिकट काट्न शुरु गरेको बक्स अफिस संयोजक नरेन्द्र महर्जनले जानकारी गराए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।