जेठ १९, राजविराज । गत बिहीवार राती असिना पानीसँगै आएको हावाहुरीले सप्तरी जिल्लाको ग्रामिण भेगका घर, पोल्ट्री फारममा व्यापक क्षति पुर्याएको छ । करीब १० बजेको समयमा आएको हावाहुरीले जिल्लाको खडक नगरपालिका र बोदेबरसाइन नगरपालिकामा ३० भन्दा बढि सर्वसाधारणको घरको छानो उडाएको छ भने छ ओटा पोल्ट्री फारममा क्षति पुर्याएको बुझिएको छ ।
हावाहुरीले खडक नगरपालिका– ११ लालपुरमा मिस्टर साहको तीन ओटा घरको जस्ताको छाना उडाएको छ । उनले सञ्चालन गरेको कुखुरा फर्मको छाना उडाएको छ । हावाहुरीले गर्दा कुखुरा तथा चल्लासमेत हराएको बुझिएको छ । त्यस्तै हावाहुरीले अनिल साहको दुई ओटा कुखुरा फर्मको छाना उडाएर करीब ३०० मिटर टाढा पुर्याएको थियो भने कुखुरा फार्ममा क्षति पुर्याएको छ । घरको छानोनै उठाएपछि कैयौं सर्वसाधारण खुल्ला आकाश मुनि बस्न बाध्य छन् । हावाहुरीबाट बालीमासमेत क्षति पुगेको छ ।
त्यसो त खडक नगरपालिका ११ लालपुरका लखन रामको तीन ओटै घरको अलबेस्टरको छाना उडाएको छ । उनी भन्छन्, ‘अलवेष्टरको टुक्रा आँगनभरी यत्रतत्र छन् ।’ ‘राती हावाहुरी चलिरहेको थियो’, उनले भने, ‘विजुली बत्ती पनि गयो, चारैतिर अँध्यारो भयो ।’ जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हावाहुरीले जिल्लाको पश्चिम दक्षिण भेगमा व्यापक क्षति भएको जानकारीमा आएको बताउँदै सम्बद्ध स्थानीय तह र प्रहरीलाई विवरण संकलनको साथै बस्तुस्थिति बुझ्न भनेको बताए ।
क्षतिको विवरण तथा वस्तुस्थिति के कस्तो छ, पूरा जानकारी आएपछि मात्र निर्देशिकाले तोकेबमोजिम राहतको व्यवस्था गर्न सकिने उनको भनाई छ । हावाहुरीले बिद्युत् पोल ढलेका कारण हुलाकी राजमार्ग भएर लालपुर जाने बाटो अबरुद्ध छ । सो स्थानमा तीन/चार ओटा बिद्युत् पोल ढलेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।