रोशन तिवारी
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको विस्तार कार्य अलपत्र परेको छ । निर्माण सामग्रीको अभावका कारण सडकको निर्माण अलपत्र परेको हो । ढिकुरपोखरी सामुदायिक वनमा निर्माण सामग्री उत्खनन गर्न रोक लगाइएपछि सडक विस्तारको काम विगत १५ दिनदेखि रोकिएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने ढिकुरपोखरी सामुदायिक वनबाट निर्माण सामग्री उत्खनन गरी सडक विस्तारको काम भइरहेको थियो । उक्त वनबाट निर्माण सामग्री उत्खनन गर्न सबडिभिजन वन कार्यालयले रोक लगाएपछि सडकको काम रोकिएको छ । श्रेष्ठ दिवा एपेक्स जेभी कम्पनीले उक्त सडक खण्ड विस्तारको काम गरिरहेको छ । कम्पनीका प्रतिनिधि काशीराज बोहराले वनले निकास नदिँदा काम ठप्प भएको जानकारी दिए । उनका अनुसार हालसम्म ६ किमीभन्दा बढी सडक कालोपत्रका लागि आधार तयार पारिएको छ । बाँकी ६ किमी कालोपत्र गर्ने आधार बनाउन नपाइएपछि काम रोकिएको हो । चालू वर्षभित्रै ७० प्रतिशत काम सक्ने लक्ष्य कम्पनीको थियो ।
पर्वत खण्डको ८ र कास्कीतर्फको १२ किमी कालोपत्रको काम बीचमै रोकिएको बोहराले बताए । ‘असारअघि १२ किमीभन्दा बढी सक्ने योजनामा थियौं,’ उनले भने, ‘निर्माण सामग्री सकियो । बाँकी निकाल्न वनले रोक्यो ।’ कम्पनीले २०७७ भदौसम्म सम्पन्न गर्नुपर्नेछ ।
निर्माण कम्पनीले गाउँपालिकाको स्वीकृति लिएर वनक्षेत्रबाट ढुंगा उत्खनन गरेको थियो । निर्माण सामग्री निकाल्ने अरू विकल्प नभएकाले वनक्षेत्रमा असर नपर्नेगरी उत्खननको पहल भइरहेको मध्यपहाडी लोकमार्ग आयोजना पर्वतका प्रमुख आशिष थापामगरले बताए । उनले भने, ‘सम्बन्धित गाउँपालिका र गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गर्ने काम भइरहेको छ ।’
अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीस्थित सब–डिभिजन कार्यालय प्रमुख धु्रव मल्लले निर्माण कम्पनीले ढुंगा, गिट्टी निकालेको उजुरी परेपछि अनुसन्धानका लागि काम रोकिएको बताए । यस्तै वातावरणीय प्रभाव मूल्यांकन गर्ने शर्तमा छलफल अगाडि बढाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । दुवै पक्षको बीचमा छलफल चलिरहेको बताउँदै उनले आयोजनाको काम धेरै दिन नरोकिने बताए ।
लोकमार्गको पोखरा–बागलुङ खण्ड स्तरोन्नतिको काम २०७४ चैतदेखि शुरू भएको थियो । पर्वत खण्डमा हालसम्म ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयको दाबी छ । अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किमीमध्ये कुश्मा बजारक्षेत्र र कडा चट्टान भएका पहराबाहेक स्थानमा सडक चौडा पार्ने, नाली, ग्याबिनलगायत सबै काम सकिएको निर्माण कम्पनी लामा कन्ष्ट्रक्शनका परियोजना प्रमुख गोविन्दप्रसाद भुसालले बताए ।
लगातार परेको पानीले समेत काममा धेरै अवरोध पुर्याएको भुसालको भनाइ छ । कुश्मा क्षेत्रमा ४ लेनको बनाउने गरी सडक विस्तार गर्नुपर्दा बजारमा वितरित खानेपानी र छेउछाउका विद्युत् पोल व्यवस्थापनमा समस्या भएको उनले बताए । अँधेरीखोलादेखि मालढुंगासम्मको २४ किमीमा असारसम्ममा मालढुंगादेखि जिल्ला प्रहरी कार्यालय पर्वतसम्मको ८ किमी सडक कालोपत्र गरिसक्ने लक्ष्यका साथ काम भइरहेको लामा कन्ष्ट्रक्शनले बताएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।