सहमतिपछि मध्यमोदी जलबिद्युतको काम पुनः सञ्चालन

Share News

जेठ २०, पर्वत । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४ मेघावाटको जलविद्युत् आयोजना स्थानीयवासीको आन्दोलनका कारण जेठ १२ गतेदेखि बन्द भएको थियो ।

गत शुक्रवार दिनभर आयोजना पक्ष, स्थानीय बासिन्दा र जिल्ला समन्वय समितिका संयोजक मनोहर बी पौडेल, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित स्थानीय जनप्रतिनिधिको संयुक्त छलफलबाट स्थानीयका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माणकार्य शनिवार विहानदेखि सञ्चालन भएको हो ।

आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीका घरमा क्षति पुगेको भन्दै पुनःनिर्माण तथा क्षतिपूर्तिको माग गर्दै प्रभावित क्षेत्रका बासिन्दाले आन्दोलन गरेका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का मख, ठाना, कल्लेनी र ओख्लेमा रहेका बस्तीका घर भूकम्पले झै भत्किन थालेपछि स्थानीयवासी आन्दोलित भएका हुन् । छलफलका क्रममा स्थानीयवासीका घरमा पुगेको क्षति भूर्गभविद् र प्राविधिक टोलीले दिएको रिपोर्टका आधारमा क्षतिपूर्तिको रकम आयोजनाले तत्काल दिने सहमति भएपछि काम सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । क्षति पुगेका छ ओटा घरधनीले भने पहिल्यैदेखि क्षतिपूर्तिको रकम बुझिसकेका छन् । प्रभावित क्षेत्रमा पर्ने सुरुङभन्दा माथि परेका २८ घरपरिवार समस्यामा छन् । घर पुनःनिर्माणको काम स्वयंले शुरु गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति यसअघिनै भए पनि आयोजनाले रकम दिन ढिलाइ गरेका कारण स्थानीयले पुनःआन्दोलन गरेका हुन् । आयोजनाको काममा आगामी दिनमा अवरुद्ध नगर्ने, स्थानीयको घर पुनःनिर्माणको अनुगमन जिल्ला समन्वय समिति पर्वतले गर्ने र आयोजनाले गर्नुपर्ने सामाजिक उत्तर दायित्वका काम प्राथमिकताका आधारमा गर्दै जाने सहमति पहिल्यै भए पनि काम नभएका कारण पुनःताकेता गरिएको जिसस पर्वतका संयोजक पौडेलले जानकारी दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।