कक्षाकोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनिक

Share News
सौरभ यादव सप्तरी । सप्तरीको महदेवा गाउँपालिकास्थित दुई विद्यालयका कक्षाकोठामा वडा कार्यालय र स्वास्थ्य क्लिनिक सञ्चालन गरिएपछि पढाइ प्रभावित भएको छ । १ वर्षदेखि महदेवा–५ को भगवती राष्ट्रिय प्राथमिक विद्यालयको एउटा कक्षाकोठामा वडा कार्यालय र वडा ६ स्थित बजरंगवली आधारभूत विद्यालयको कक्षाकोठामा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको हो । दुवै विद्यालयको एउटा कक्षाकोठामा रहेको डेस्क–बेन्च झिकेर अर्काे कक्षाकोठामा कोचाकोच गरी राखिएको छ, जसले पठनपाठन समस्या भएको शिक्षकहरूको भनाइ छ । तर, जनप्रतिनिधिले नै यस्तो गरेको कारण उनीहरू खुलेर बोल्न भने डराउँछन् । ‘निजी विद्यालयहरूमा पढ्ने विद्यार्थीहरूलाई कमिलाले मात्र टोके पनि अभिभावकले गुनासो गर्न आउँछन् । तर, यो सरकारी विद्यालयमा कोचाकोच गरेर विद्यार्थी पढाउनु पर्ने बाध्यता रहँदा पनि जनप्रतिनिधिका डरले कोही बोल्न आउँदैनन्,’ एक शिक्षकले भने । बजरंगवलीमा २७० र भगवतीमा १६० जना विद्यार्थी अध्ययनरत छन् । भगवतीका प्रधानाध्यापक रामकृपाल पण्डितले केही दिनका लागि कोठा उपलब्ध गराइए पनि अहिले जनप्रतिनिधिको स्थानान्तरणमा ढिलासुस्ती गरेको सुनाए । वडा नं. ५ का अध्यक्ष रमेशप्रसाद मण्डलले भवनको अभावमा विद्यालयको कक्षाकोठा प्रयोग गरिएको बताए । वैकल्पिक व्यवस्था गरी छिटै कक्षाकोठा खाली गर्ने उनको भनाइ छ । जिल्लाको शिक्षा समन्वय एकाइ समितिका प्रमुख फणीन्द्र खत्रीले यसबारे आफूले सम्बन्धित निकायमा जानकारी गराई आवश्यक पहल गरिरहेको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।